गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । उप–प्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधान कार्यालयमा शुक्रबार मन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले स्वागत गरेका छन् ।

लामिछानेले प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गरेका छन् ।

गृहमन्त्री लामिछानेले अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरू नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिकीकरण गरेका छन् ।

प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने उद्देश्यले गरिएको अध्ययनले कार्य वातावरण, कार्य सन्तुष्टि, कार्य उत्प्रेरणा र कार्य सम्पादनलाई एक अर्काको परिपूरकको रूपमा अन्तर सम्बन्धित रहेको देखिएको उक्त प्रतिवेदनमा देशभरबाट विभिन्न जिल्लामा कार्यरत १ हजार ३ सय ८६ जना नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूमा सर्वेक्षण, गहन अन्तरवार्ता तथा सुपरिवेक्षक तहका प्रहरी कर्मचारीहरूसँग लक्षित छलफलको माध्यमबाट परिमाणात्मक र गुणात्मक दुवै किसिमका तथ्याङक विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ ।

प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक अध्ययन प्रतिवेदनमा देशभरबाट कक्षा १० देखि स्नातक तहसम्म अध्ययनरत १ हजार ३ सय ६१ जनालाई सहभागी गराई प्रहरीको काम कर्तव्यप्रति युवाको धारणा र सेवाप्रति युवाहरूको आकर्षणका सम्बन्धमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको थियो ।

लामिछानेले जस्तोसुकै विषम परिस्थितिमा पनि किन्चित विचलित नभई अहोरात्र जनताको सेवामा खटिई देशको आन्तरिक शान्ति सुब्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन् ।

उनले भने, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयहरुको भौतिक संरचनाहरू छैनन, तल्लो तहका प्रहरी कर्मचारीहरू ब्यारेकमा कष्टपूर्ण तरिकाले सुत्नु परेको अवस्था छ, प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीहरूको लागि आवास गृह छैन, स्केलमा पाउनु पर्ने सामानहरु समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महँगी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त गरिनुपर्छ ।’

Published : Friday, 2022 December 30, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया