सरकारमा ओलीसँग अनुमति लिएर मात्रै प्रचण्डले निर्णय गर्न पाउने !

काठमाडौं । सत्ता स्वार्थका लागि दुई हप्ता अगाडि मात्रै नजिक भएका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच हिमचिम निकै बोक्लो गरेर बढ्न थालेको छ ।

शुक्रबार दाहाललाई भेट्न ओली बालुवाटार बिहानै पुगेका छन् । ओली र दाहालबीच करीव साढे घण्टा वार्ता भएको छ ।

उनीहरूका बीच मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।

ओली नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर एमालेमा भित्र्याउने कुरामा नकारात्मक छन् । दाहालले ओलीलाई फकाएर नेपाललाई एमालेमा प्रवेश गराउन चाहेका छन् । अध्यक्ष नेपालका विषयमा ओली र दाहालबीच कुराकानी भएको बुझिएको छ ।

सातदलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबण्डालगायतका विषयमा प्याकेजमै टुंग्याउने तयारी भइरहेको छ ।

सत्तारुढ दलका शीर्ष नेताहरूले एमालेका अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाएको छ । ओली नेतृत्वको संयन्त्रले दाहाललाई सरकार चलाउन निर्देशन दिनेछ । दाहालले कुनै ठूला निर्णय गर्दा ओलीसँग सहमति लिएर मात्रै गर्नुपर्नेछ ।

उप–प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिलाई ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तयारीको म्याण्डेट दिइएको छ ।

Published : Friday, 2022 December 30, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया