कांग्रेस नेतृ गुरुङको निधन, उप–सभापति धनराज आफै पुगे श्रद्धाञ्जलि दिन

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङले टेकनशोभा गुरुङको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

महासमिति सदस्य गुरुङको पुस १३ गते मध्यान्ह साढे १२ बजे ४६ वर्षको उमेरमा निधन भएको काँस्की कांग्रेसले जनाएको छ ।
काँस्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी गुरुङ बिगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।
उनको महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका क्रममा निधन भएको शोक वक्तव्यमा उल्लेख छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रहने नेतृ गुरुङ सिद्धान्तप्रति निष्ठावान कर्मशील, अत्यन्त सरल र प्रष्टवादी रहेको कांग्रेसले जनाएको छ ।

आमा समूह लगायत विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहेकी उनले समाजप्रति महत्वपूर्ण योगदान पु¥याएकी छिन् ।
नेतृ गुरुङका श्रीमान् र १ छोरा छन् ।

पार्टीको आदर्श, सिद्धान्तप्रति निष्ठावान उनको निधनले पार्टीको संगठनमा गम्भीर क्षति पुगेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । दीवंगत आत्माको चीरशान्तिको कामनाका साथ शोक संतप्त सम्पूर्ण परिवारजनहरूमा कांग्रेसले हार्दिक समवेदना व्यक्त गरेको छ ।

बिहीबार बिहान स्व.गुरुङको पार्थिव शरीरमा उप–सभापति गुरुङ, पूर्वमन्त्री एवम् पूर्व जिल्ला सभापति यज्ञबहादुर थापा, क्षेत्रीय सभापति मनोज गुरुङ लगायतले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

स्व.गुरुङको अन्त्येष्टि माछापुच्छ्रे गाउँपालिका–३ स्थित रातोपानी घाटमा भएको छ ।

Published : Thursday, 2022 December 29, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया