नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सौर्य’ सम्पन्न

काठमाडौं । नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सौर्य’ सम्पन्न भएको छ ।

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा पुस १ देखि संचालन भएको संयुक्त सैनिक अभ्यास पुस १४ समापनि भएको हो ।

नेपाल–ईण्डिया बटालियन लेभल ज्वाईन्ट ट्रेनिङ एक्सरसाईज सौर्य किरण- १६ को नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले विशेष कार्यक्रमका बीच समापन गरेका हुन् ।

‘विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरू समावेश गरी संचालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४÷३३४ जना सकलदर्जा सहभागी रहेका थिए’, विज्ञप्तिमा उल्लेख छ ।

बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी सैनिकहरूलाई बधाई दिएका छन् ।

तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आई पर्ने जस्तो सुकै चुनौतिहरूलाई प्रभावकारी ढंगले समाधान गर्न मद्दत पुग्ने विश्वास राणाले लिएका छन् ।

राणाले सहभागी दुवै देशका सैनिकहरूलाई प्रमाणपत्र समेत प्रदान गरेका छन् ।


सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्य पश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल, नं.३ बाहिनीपति एंव संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेमबहादुर पुन, नं.२२ बाहिनीपति सहायक रथी नवराज गुरुङ्गको उपस्थिति रहेको थियो ।

नेपालका लागि भारतीय सैनिक सहचारी कर्णेल अमित शर्मा, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिती रहेको थियो ।

संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सिपको विकास हुने अपेक्षा लिइएको छ ।

आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाएको छ ।

Published : Thursday, 2022 December 29, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया