गण्डकी कांग्रेस दलको नेता पदमा पाण्डे विजयी

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभाको संसदीय दलको नेता पदमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

बुधबार पोखरामा भएको निर्वाचनमा पाण्डे १८ मतसहित संसदीय दलको नेता पदमा विजयी भएका हुन् ।

दलको नेता पदमा निर्वाचित भएका पाण्डे सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

नेता शेखर कोइराला समूहबाट संसदीय दलको नेता पदमा उम्मेदवार बनेका भोजराज अर्याल पराजित भएका छन् । पाण्डेले अर्यालाई ८ मतले हराएका हुन् ।

गण्डकी प्रदेश सभामा ६० सदस्य रहेको छ । कांग्रेसका २७ जना सदस्य छन् । २७ सदस्यमध्ये संस्थापन पक्षमा १४ छन् । शेखर समूहमा १३ जना सदस्य छन् ।

निर्वाचनमा भने संस्थापन पक्षका पाण्डेले १८ र शेखर समूहका अर्यालले आठ मत पाए । एक मत बदर भएको निर्वाचन संयोजक विष्णुप्रसाद लामिछानेले जानकारी दिएका छन् ।

यसअघि ४ मंसिरमा सम्पन्न निर्वाचनमा पाण्डे गोरखा २ (२) र अर्याल स्याङ्जा २ (२) बाट विजयी भएका थिए ।

Published : Thursday, 2022 December 29, 1:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया