नगदसहित अपहरणकारी पक्राउ, बिहारबाट अपहरित नेपाली नागरिकको उद्धार

काठमाडौं । महोत्तरी प्रहरीले अपहरणकारी ४८ वर्षीय महमद मुखतारलाई पक्राउ गरेको छ ।

प्रहरीले अपहरणमा परेका सिरहाका ४० वर्षीय मोहमद ईसराक सिद्दिकीलाई भारतको बिहारबाट सकुश उद्धार गरेको छ ।

भारतको बिहारको मधुवनी जिल्लाको बेता पर्सा पंचायत वडा नम्बर १ का मुखतारलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका मुखतार पेशाले गाडी बनाउने मिस्त्री हुन् ।

४० वर्षीय मोहमद ईसराक सिद्दिकीलाई पुस ९ गते मध्यान्ह साढे १२ बजे महोत्तरीको पिपरा गाउँपालिका–५ चाँदनी चौकबाट मुखतारसहितको समूहले अपहरण भएको थियो ।

अपहरणमा परेका सिद्दिकी सिरहाको सिरहा नगरपालिका– ४ घर भई हाल लहान नगरपालिका– ३ मा डेरा गरी बस्दै आएका मोहमद मुस्ताकको छोरा सिद्दिकीलाई अपहरण मुक्त गर्न अपहरणकारीहरूले सिद्दिकीको श्रीमती सुबही खातुन समेतसँग भारतीय रुपियाँ १५ लाख फिरौती रकम माग गरेका थिए ।

महोत्तरीको मटिहानी नगरपालिका– ७ स्थित नेपाल–भारत सीमा नजिक पर्ने एकान्तस्थलमा फिरौती रकम लेनदेन हुन लागेका बेला संयुक्त प्रहरी टोलीले पुस १२ गते दिउँसो ३ बजे मटिहानी– ७ स्थित नेपाल–भारत सीमा नजिक पर्ने एकान्तस्थलबाट फिरौती रकममध्येको नगद ९ लाखसहित अपहरणकारी महमद मुखतार पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।

तीन जना अपहरणकारी फिरौती बापत माग गरेको दुई लाख पचास हजार रुपियाँसहित भारततर्फ भागेर फरार रहेका छन् ।
फरार रहेका उनीहरूको खोजतलाश भई रहेको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीसँगको समन्वय तथा सहयोगमा अपहरित मोहमद ईसराक सिद्दिकीलाई मधुवनी, पंचायत बेता पर्सा वडा नम्बर १ स्थित महमद मुखतारको घरबाट सकुशल उद्दार गरिएको छ ।

पक्राउ परेका महमद मुखतारलाई महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित गराइएको छ । मुखतारलाई ८ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिवादी महमद मुखतार उपर अपहरण वा शरीर बन्धकसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान कार्य भई रहेको छ ।

प्रहरीले फिरौतीको ९ लाख रुपियाँ, भारतीय रुपियाँ २३ हजार ३ सय बरामद गरेको छ ।

अपहरणमा प्रयोग भएको मोवाईल भारतीय कम्पनीको सिमकार्डलगायतका सामग्री पनि बरामद भएका छन् ।

Published : Thursday, 2022 December 29, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया