राप्तीमा करोडौंको भ्रष्टाचार गरेपछि २४ कर्मचारीले बयान दिँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमआरआई र सिटीस्क्यान खरिदमा भ्रष्टाचार गर्ने कर्मचारीहरूलाई बयानका लागि बोलाएको छ ।

दाङको घोराहीमा रहेको प्रतिष्ठानका २४ जना कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

अख्तियारले पूर्वरजिष्ट्रारदेखि विभिन्न पदमा रहेका कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ ।

प्रतिष्ठानकी तत्कालीन उप–कुलपति प्रा.डा.संगीता भण्डारीको कार्यकालमा सिटीस्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको थियो ।

प्रतिष्ठानका पूर्वरजिस्ट्रार रामप्रसाद प्याकुरेल, पूर्वकायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, पूर्वकामु रजिस्ट्रार एवम् हालका डेपुटी रजिस्ट्रार झंकार लामिछानेलाई बयानका लागि अख्तियारले बोलाएको छ ।

अख्तियारले डीन डा. सागर पन्थीलाई पनि अख्तियारले बयानका लागि पत्र पठाएको छ ।

अख्तियारले झंकारकी श्रीमती तत्कालीन नर्सिङ अधिकृत विन्दु पौडेल, लेखा अधिकृतहरू राजीव बस्नेत, श्रीराम चौधरीलाई पनि बयानमा बोलाएको छ ।

रेडियोलोजिष्ट डा.बम बिसी, लेखा अधिकृत छायाँ डिसी, अञ्जु शर्मालाई पनि अख्तियारले बयानमा बोलाएको छ ।

अख्तियारले सिटीस्क्यान र एमआरआईको ठेकेदारसँग मिलेर स्पेसिफिकेसन तयार गर्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शरद भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारीलाई पनि अख्तियारले पत्र काटेको स्रोतले जनाएको छ ।

डा.शिरिसा पोखरेल, पूर्व कर्मचारी मेघराज अधिकारी, फिजियोथेरापिष्ट पूजा मण्डल, चार्टर्ड एकाउन्टेन्ट नितुन कुर्मीलाई पनि बयानका लागि पत्र आएको छ ।

पूर्व उपकुलपति प्रा.डा.संगीता भण्डारीको निर्देशनमा स्थानीय केही ब्यवसायीको मिलेमतोमा एमआरआई र सिटीस्क्यान खरिदमा घोटाला भएको उजुरी अख्तियारमा पुगेको छ ।

अष्ट्रेलियामा रहेका चार्टर्ड एकाउन्टेन्टको डकुमेन्ट प्रयोग गरेर प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा काम भएको छ ।

Published : Tuesday, 2022 December 27, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया