यी हुन् कपिलवस्तुमा कांग्रेस हराएर एमाले जिताउने ठूला अन्तर्घातीहरू

चन्द्रौटा । नेपाली कांग्रेसका नेता एवम् कपिलवस्तु ३ का प्रतिनिधि सभाका उम्मेदवार अभिषेकप्रताप शाहले अन्तर्घातीहरूलाई कारबाहीका लागि सिफारिस गरेका छन् ।

पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्नेहरूलाई कारबाहीका लागि सिफारिस गरेका हुन् ।

शाहलाई कांग्रेसले कपिलवस्तुको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा टिकट दिएको थियो । शाहलाई पार्टीभित्रकै जिम्मेवार नेताहरूले अन्तर्घात गरेर हराएका थिए ।

नेता शाहले कपिलवस्तु कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम, पूर्वसांसद वीरेन्द्र कनौडियालगायतलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न माग गरेका छन् ।

नेता शाहले सभापति शेरबहादुर देउवालाई पत्र लेखेर उजुरी दिएका छन् ।

जिल्ला सभापति अब्दुल कलाम, जिल्ला उप–सभापति हुमकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, जिल्ला प्रवक्ता ईश्वरी पाण्डे, जिल्ला सदस्य हरिप्रसाद पोखरेललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरिएको छ ।

०६४ देखि लगातार चुनाव जित्दै आएका शाहलाई अन्तर्घातीहरूले हराएका हुन् ।

यसअघि क्षेत्रीय समितिले पनि नेता शाहलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिले शाह र कृष्ण नगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

सभापति अब्दुल कलामसहितका जिल्लाका ठूला नेताहरूले कांग्रेसका शाहलाई हराएर एमालेका उम्मेदवारलाई जिताएका छन् ।

कपिलवस्तु ३ कांग्रेसको सबैभन्दा बलियो क्षेत्र मानिन्छ । नेता शाह यो क्षेत्रमा लोकप्रिय मानिन्छन् ।

Published : Tuesday, 2022 December 27, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया