कतार जेलमा दाङका बस्नेत, उद्दारका लागि मल्लले गरे पहल

काठमाडौं । माओवादी केन्द्रका नेता तिलक मल्ल ‘क्षितिज’ले दाङका विवश बस्नेतको उद्दारका लागि कानूनी प्रक्रिया अगाडि बढाएका छन् ।

नेता मल्लले सोमबार वैदेशिक रोजगार बोर्डको सचिवालयमा बस्नेतको उद्दारका लागि निवेदन दिएका छन् ।

सल्यान जिल्लाका बागचौर नगरपालिका– ११ घरभै हाल दाङको बबई गाउँपालिकाका बस्ने बस्नेत वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका बेला झगडा परेको विषयमा एक वर्षदेखि जेलमा छन् ।

काम गर्ने क्रममा साथीहरूसँग भएको विवादलाई विषय बनाएर झुठ्ठा मुद्दा लगाएर बस्नेतलाई कतारको दुद्याल जेलमा राखिएको छ । बस्नेत निर्दोष रहेको उनका आफन्तले बताएका छन् ।

वैदेशिक रोजगारीमा रहेका धेरै नेपालीहरूलाई यस्तै खालका झुठ्ठा मुद्दा लगाएर फसाउने र थुनाउने कार्यहरू हुँदै आएका छन् ।

बागचौरका बलबहादुर भण्डारीले बस्नेतको रिहाइका लागि पहल गर्न आग्रह गरेपछि माओवादीका नेता मल्लले श्रम मन्त्रालय, बोर्ड र नेपालीहरूसँग समन्वय गरेका छन् ।

नेता मल्लले कतारमा रहेका नेपाली संघ संस्था र नेपाली राजदूतावासका कर्मचारीहरूलाई पनि बस्नेतको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

Published : Tuesday, 2022 December 27, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया