को बन्छ लुम्बिनी कांग्रेसमा दलको नेता ? सभापतिको च्याप्टर क्लोज

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीले संसदीय दलको नेता चयनका लागि समिति बनाएको छ ।

सोमबार बुटवलमा बसेको कार्यसमिति बैठकले सह–महामन्त्री खगराज पाण्डेको संयोजकत्वमा दलको संसदीय नेता र कार्यसमिति निर्वाचनका लागि निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यमा विष्णुकुमारी सापकोटा र देवनारायण चौधरीलाई चयन गरिएको छ । लुम्बिनी प्रदेशमा कांग्रेसको संसदीय दलको नेताका लागि चार जनाको नाम चर्चामा छ ।

दाङका राजु खनाल, रूपन्देहीका अब्दुल रज्जाक, पाल्पाका वीरबहादुर राना र दाङका डिल्लीबहादुर चौधरीको नाम संसदीय दलको नेता चर्चामा छ ।

संसदीय दलको नेतामा निर्वाचन भयो भने राजु खनालको जित हुन सक्ने चर्चा छ । खनाल संस्थापन पक्षका हुन् । रज्जाक र चौधरी पनि संस्थापनकै हुन् । राना शेखर समूहका हुन् ।

सह–महामन्त्री पाण्डेको संयोजकत्वमा गठन गरिएको उप–समितिले संसदीय दलको नेता चयनको प्रक्रिया अगाडि बढाउनेछ ।
लुम्बिनी कांग्रेसले सहमतिबाट दलको नेता चयनको प्रयास गर्नेछ ।

सह–महामन्त्री विष्णु मुस्कान संयोजक रहेको संसदीय दलको विधान निर्माण उप–समिति समेत गठन गरिएको छ । उप–समितिको सदस्यहरूमा महेन्द्र पाण्डे र रिना नेपाल रहेका छन् ।

लुम्बिनी प्रदेश सभाका सदस्यहरूको शपथ ग्रहण लगत्तै पार्टीको संसदीय दलको नेता चयन गरिनेछ । पुस १६ गते प्रदेश सभाका सदस्यहरूको शपथ ग्रहण गर्ने तयारी छ ।

लम्बिनी कांग्रेसका सभापति अमरसिंह पुन रोल्पाबाट प्रदेश सभातर्फ प्रत्यक्षमा पराजित भएका छन् । संसदीय दलको नेतामा पुनको च्याप्टर क्लोज भएको छ ।

लुम्बिनी कांग्रेसमा सभापति पुन निकै निरंकुश मानिन्छन् । पुनले आफ्नो गुटलाई मात्रै संरक्षण गर्दै आएका छन् ।

नेता शेखर कोइराला निकट मानिने सभापति पुन विगतमा निर्माण व्यवसायीको काम गर्दथे । काठमाडौंमा उनले भव्य घर पनि बनाएका छन् ।

Published : Monday, 2022 December 26, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया