सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको बताएका छन् ।

सोमबार विज्ञप्ति जारी गरेर नेता कोइरालाले भने, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन ।’

‘हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ’, उनले भनेका छन् ।

‘कांग्रेस संसदको सबैभन्दा ठूलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ’, उनले भनेका छन् ।

‘गठबन्धनको मुख्य पार्टनर माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ’, कोइरालाले भने, ‘हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ ।’

उनले भने, ‘अबफेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, उर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन ।’

‘साथीहरूमा तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन’, उनले भनेका छन् ।

‘साथीहरू निरास हुनुपर्ने कुनै कारण छैन’, कोइरालाले भनेका छन्, ‘हामी निरन्तर संवाद र सम्पर्कमा रहदै तपाईहरूको घर आँगनमा आउने छौँ ।’

उनले भने, ‘किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ ।’

‘कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ’, उनले भने, ‘कांग्रेस केन्द्रदेखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ ।’

उनले भने, ‘यसबाट हामी निराश हुने छैनौँ । यहाँबाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनताबीच जानेछौँ ।’

‘पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ’, उनले भने, ‘जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन ।’

Published : Monday, 2022 December 26, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया