निराशा र आरोप, प्रत्यारोप नगरौँ : कांग्रेस नेता गिरी

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरीले वामपन्थी र दक्षिणपन्थीहरूको ध्रुबीकरणबाट बन्न लागेको सरकारप्रति आशंका जनाएका छन् ।

आइतबार नेता गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनमतको धरातलीय यथार्थमा टेकेर नेपाली कांग्रेसको पार्टी संगठनलाई युवा र नयाँ पुस्ताको चाहना, भावना बमोजिम समेत चुस्त, दुरुस्त रुपमा अगाडि बढाउनु हामी सबै नेता कार्यकर्ताको दायित्व र जिम्मेवारी हो ।’

‘हामीले नै बनाउने हो हाम्रो संगठन, हामीले नै ल्याउने हो कांग्रेसमा नयाँ उत्साह र जीवन’, गिरीले भनेका छन्, ‘प्राकारान्तरले आज वामपन्थी र दक्षिणपन्थीहरूको समीकरणले बनेको सरकारको कारण यो देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको भविश्य कस्तो हुने त्यो भने हेर्न बाँकी नै छ ।’

उनले भनेका छन्, ‘आमनिर्वाचनपछि देखापरेको राजनीतिक उत्साहमा आजको अनपेक्षित राजनीतिक घटनाले केहि निराशा आउनु स्वाभाविक हो । निरासा भएको बेला कुनै क्रिया र प्रतिक्रिया दिनु उपयुक्त होइन ।’

‘ध्रुवीकरण र समीकरणका रुपभन्दा सार पक्ष हामीले बुझ्नु र विश्लेषण गरेर उपयुक्त सान्दर्भिक रणनीति बनाएर अगाडि बढ्नु जरुरी छ’, गिरीले भनेका छन् ।

‘अब आफूभित्रै आरोप र प्रत्यारोपले हामी आफैलाई कमजोर बनाउँछ’, उनले भनेका छन्, ‘हाम्रो नेतृत्व र हाम्रो मिहेनतको कारणले नै आज हामी स्थानीय तहमा पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित भएका छौं ।’

Published : Sunday, 2022 December 25, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया