सालझण्डीमा नेपाल र भारतका सेनाको संयुक्त अभ्यास

काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्यअभ्यास ‘नेपाल–ईण्डिया ब्याटलेशन लेभल ज्वाइन्ट ट्रेनिङ एक्सरसाईज सूयकिरण १६’ शुरु भएको छ ।

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा श्री मध्य पश्चिम पृतना हेडक्वाटरमा शुक्रबारदेखि संयुक्त सैन्य अभ्यास शुरु भएको विज्ञप्तिमा उल्लेख छ ।

पृतनापति उपरथी यामप्रसाद ढकालले संयुक्त अभ्यासको उद्घाटन गरेका छन् ।

विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरू समावेश गरी संचालन भएको संयुक्त अभ्यासको यो १६ औं संस्करण हो ।

नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी गराई सञ्चालन भएको छ ।

संयुक्त अभ्यास आगामी पुस १४ गते सम्पन्न हुने कार्यक्रम रहेको छ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको पन्ध्रौं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

विक्रम संवत २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलता पूर्वक सञ्चालन भइसकेको छ ।

संयुक्त अभ्यासमा फौजहरूले प्रतिविद्रोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्नेछन् ।

अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदान हुनेछ ।

यस किसिमको सैनिक अभ्यासले दुई देशबीच सदियौंदेखि रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशका सेनाहरूबीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2022 December 16, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया