काठमाडौंमा पैदल यात्रुको मृत्यु, जीप दुर्घटनामा बसन्तीको ज्यान गयो

काठमाडौं । बसले ठक्कर दिँदा काठमाडौंमा पैदल यात्रुको मृत्यु भएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा.५ ख ५६२२ नम्बरको बसको ठक्करबाट पैदलयात्री काभ्रे घर सिनामंगल बस्ने ४२ वर्षीय रामकृष्ण रन्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको के.एम.सी.अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–३ स्थित सडकमा ज.२ त ५२७ नम्बरको ट्याक्टरले बीआर ३० भी १६७३ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार महोत्तरी ईटहरवाकट्टी–७ बस्ने ५७ वर्षीय सुरेन्द्र मण्डलको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता, पोखरा महानगरपालिका–२५ हेम्जा हनुमान चोकमा ग.२ च २६८४ नम्बरको जीप आफै अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किएर बिहीबार राति दुर्घटनामा हुँदा जीपमा सवार तनहुँ घर भई हाल पोखरा महानगरपालिका–१० शिवचोक बस्ने ३७ वर्षीया बसन्ती मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा घाइते भएका म्याग्दी मङ्गला गाउँपालिका–१ मजुला बस्ने ४७ वर्षीय गजेन्द्र पुनलाई उपचारका लागि सोही अस्पतालमा उपचार भइरहेको छ ।

हाल फरार जीप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता, कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित सडकमा ना.७ ख ६५२१ नम्बरको बसले साइकललाई शुक्रबार बिहान ठक्कर दिँदा सोही नगरपालिका–७ सिसैया बस्ने २२ वर्षीय कविराज बैजको मृत्यु भएको छ ।

ठक्कर दिँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–६ अकलामा ग.१ ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बिहीबार दिउँसो दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार पश्चात ८ जना डिस्चार्ज भएका छन् ।

थप उपचारका लागि ७ जनालाई पुरानो मेडिकल कलेज भरतपुर चितवन र ७ जना मेट्रोसिटी अस्पताल पोखरा रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता, भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थलीस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४३ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको भानु नगरपालिका–२ आमबोटेस्थित डुम्रे बेशीशहर सडकको नालीमा सोही ठाउँ बस्ने ६२ वर्षीय भोटे सार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Friday, 2022 December 16, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया