आईजीपी सिंहद्वारा दुधौलीमा प्रहरीका भवनहरूको उद्घाटन

सिन्धुली । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी संगठनलाई संस्थागत रुपमा सवल र सक्षम बनाउन आफ्नो प्रयास जारी रहने बताएका छन् ।

बुधबार बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा विभिन्न भवनहरूको उद्घाटनका क्रममा सिंहले प्रहरीलाई भौतिक रुपमा सुविधा सम्पन्न बनाउनुपर्ने बताएका हुन् ।

आईजीपी सिंहले दुधौलीमा नवनिर्मित क्वाटर गार्ड, आन्तरिक प्रशिक्षणालय, प्रशिक्षार्थी ब्यारेक र भान्साघर भवनहरूको उद्घाटन गरेका छन् ।

सिंहले नव–निर्मित भवनहरूबाट प्राप्त हुने सेवा–सुविधाका कारण प्रशिक्षण वातावरण थप ऊर्जामय हुने विश्वास व्यक्त गरेका छन् ।

प्रशिक्षक र तालिमरत् प्रशिक्षार्थीको तालिमप्रतिको सकारात्मक भावना र उच्च मनोवलको सुनिश्चितताको साथै प्रशिक्षण प्रभावकारितामा उल्लेख्य वृद्धि हुने उनले बताएका छन् ।

नव–निर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर दीर्घकालसम्म उचित संरक्षण र संवर्धनमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।

व्यावसायिक प्रहरी उत्पादन गर्ने दृष्टिले प्रशिक्षण वातावरण महत्वपूर्ण र संवेदनशील विषय रहेको सिंहले बताएका छन् ।

उनले भने, ‘अनुशासन, प्रशिक्षण शैली, स्रोतको समुचित प्रयोग आदिका दृष्टिले तालिम केन्द्र नमूना हुन जरुरी छ ।’

सिंहले तालिमलाई कसरी प्रभावकारी र समय–सापेक्ष बनाउन सकिन्छ भन्नेमा समादेशकको टिम केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् ।

तालिम केन्द्रको मापन तालिमको गुणस्तर र त्यसबाट उत्पादित प्रहरी जनशक्तिले कार्यक्षेत्रमा गर्ने प्रदर्शन एवं नागरिकले गर्ने न्यायानुभूतिका आधारमा हुने उनले बताएका छन् ।

समयानुकूल र गुणस्तरीय प्रशिक्षण प्रणालीलाई अवलम्बन गरी सकारात्मक परिणाममा केन्द्रित रहन समादेशक र तालिम केन्द्र टिमलाई उनले निर्देशन दिएका छन् ।

आईजीपी सिंहले नवनिर्मित भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माणमा सहयोग पु¥याउने प्राविधिक तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरेका छन् ।

दुधौलीका भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कूल ३५ करोड १३ लाख ३३ हजार ४ सय ७० रूपियाँको लागतमा निर्माण कार्य सम्पन्न भएको छ ।

Published : Thursday, 2022 December 15, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया