प्रहरी र आफन्तलाई ललितपुरको मेघा अस्पतालमा ३० प्रतिशत छुट

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पताल (प्रा)लि.बीच स्वास्थ्य उपचारमा छुट दिने सहमति भएको छ ।

शुक्रबार संघ र ललितपुरको धोबीघाटस्थित अस्पतालले बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

संघकी अध्यक्ष कुसुमलता सिंह तथा मेघा अस्पतालका अध्यक्ष किशोरजंग राणा र चिकित्सा निर्देशक डा.ईवराज सिम्खडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपदमा समेत आफ्नो ज्यानको प्रवाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी अस्पतालमा स्वास्थ्य उपचार तथा औषधिको लागि छुट दिने गरी भएको सम्झौताप्रति धन्यावाद दिएकी छिन् ।

उनले आगामी दिनमा समेत संघ र अस्पतालबीचको सहकार्य र समन्वय भइरहने बताएकी छिन् ।

अस्पतालका अध्यक्ष किशोरजंग राणाले नागरिक सुरक्षामा खटिने प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा लाभदायी हुने बताएका छन् ।

उनले आगामी दिनमा समेत अस्पताल र संघबीच आवश्यक सहकार्य हुने बताएका छन् ।

सम्झौताअनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत आइसियु वेड, वार्ड वेड, क्याविन रूम, ल्याव र एक्सरेमा ५० प्रतिशत छुट, ओपीडी डाक्टर, आइसियू वार्ड तथा क्याविन वार्ड डाक्टर राउण्ड, ओटी अपरेशन र डाक्टरले दिने सुविधामा ३० प्रतिशित र फार्मेसी औषधिमा १५ प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।

आर्थिक अवस्था कमजोर भई उपचार गराउन असमर्थ रहेको भनी सिफारिस भई आएमा वार्षिक ३ जनासम्म अस्पतालले निःशुल्क उपचारको व्यवस्था गर्नेछ ।

सम्झौता आगामी मंसिर २३ गतेदेखि कार्यान्वयन भई २०८४ मंसिर २२ गतेसम्म ५ वर्षका लागि लागू हुनेछ ।

Published : Friday, 2022 December 9, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया