विगतमा जस्तो छलछाम होइन, ओखलढुंगामा मलाई कामको प्रगति चाहिन्छ : रामहरि खतिवडा

सिद्दिचरण । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका नवनिर्वाचित सांसद रामहरि खतिवडाले ओखलढुंगाका विकास योजनाहरू समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बुधबार ओखलढुंगाको सदरमुकाम सिद्दचरण नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुखहरूसँगको अन्तरक्रियामा खतिवडाले कार्यान्वयनको चरणमा रहेका योजनाहरू छिटो सम्पन्न गर्न आग्रह गरेका हुन् ।

उनले विकासका आयोजनाहरू कार्यान्वयन भएको र सफलताका साथ सम्पन्न भएको हेर्न आफूले चाहेको बताएका छन् ।

खतिवडाले विकासका कार्यक्रम र योजनाहरूमा बजेट अभाव भएमा आफूले केन्द्र सरकार र प्रदेश सरकारसँग प्रयाप्त ल्याइदिने प्रतिवद्धता जनाएको खतिवडाका स्वकीय सचिव हुकुम राईले बताएका छन् ।

‘ओखलढुंगा विकासमा पछाडि परेको छ । जति पनि विकासका कार्यक्रम र योजना छन् ती सबै समयमा सम्पन्न हुनुपर्छ’, उनले भने, ‘बजेट अभाव हुन्छ भने मलाई भन्नुस् । म बजेट ल्याइदिन्छु ।’

खतिवडाले ओखलढुंगाको विकास र जनताको काममा कुनै पनि बहाना गरेर ढिलासुस्ती गरिए आफूलाई सैह्य नहुने चेतावनी पनि दिएका छन् ।

कांग्रेस नेता खतिवडाले आफूलाई योजनाहरू के कति चरणमा पुगेका छन् ? त्यसको प्रगति विवरण दिनुपर्ने बताएका छन् ।

काम नगर्ने निर्माण व्यवासयीहरूलाई ताकेता गरेर काम गराउनुपर्ने अन्यथा ठेक्का रद्द गर्नेसम्मको प्रक्रिया अगाडि बढाउन पनि खतिवडाले सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

विगतमा जस्तो राजनीतिक र प्रशासनिक पहुँचका भरमा काम नगर्ने प्रवृत्तिको अन्त्य हुनै पर्ने खतिवडाले बताएका छन् ।

ओखलढुंगाको जनताले कुनै गुनासा वा समस्या लिएर आउँदा समयमा काम गरिदिन पनि खतिवडाले कार्यालय प्रमुखहरूसँग आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेश सांसदद्वय प्रदीप सुनुवार र बाबुराम गौतमसहित ओखलढुंगाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2022 December 7, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया