नेपाल वायुसेवा निगमलाई डुबाउने पाँच वटा चिनियाँ जहाज बिक्री गरिने

काठमाडौं । नेपाल वायुसेवा निगमले पाँच वटा चिनियाँ जहाज बिक्री गर्ने भएको छ ।

मंगलबार सूचना जारी गरेर निगमले चिनियाँ जहाजहरू बिक्रीका लागि मूल्यांकन प्रक्रिया अगाडि बढाएको छ ।

ज २ वटा एमए/६० र ३ वटा वाई/१२ जहाज बिक्री गर्न मूल्यांकनका लागि कम्पनी छनोट गर्न टेण्डर आव्हान गरिएको छ ।

निगमले १५ दिनको समय दिएर कम्पनी छनोटका लागि सूचना जारी गरेको छ । २०७७ साउनदेखि चिनियाँ जहाज ग्राउन्डेड छन् ।

जहाजको इन्टरनेशनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्यांकन गर्न इच्छुक फर्म र कम्पनीबाट निगमले प्रस्ताव मागेको छ ।

चिनियाँ जहाजहरू चलाउन नसकेपछि भाडामा लगाउने तयारी भएको थियो । तैपनि कसैले ती जहाज भाडामा उडाउन मानेनन् । बाध्य भएर निगमले ती जहाजहरूलाई बेच्न लागेको छ ।

निगमले सेप्टेम्बर र नोभेम्बरमा २ पटकसम्म जहाज भाडामा दिने गरी टेन्डर गरेको थियो ।

वाई१२ नामक जहाज प्रशिक्षक पाइलट उपलब्ध नहुनु, प्रशिक्षण खर्च ट्विनअटरको तुलनामा ४ गुणाभन्दा बढी हुनुका साथै ए३२० को भन्दा पनि बढी छ ।

ट्रेनिङ स्लट र क्रुको अभाव हुँदा सधैँ विमान ग्राउन्डेड हुने अवस्था रहेको छ । विमानको पेलोड पर्फमेन्स एकदमै सीमित छ । सबैजसो सेक्टरहरूमा २५ देखि ६० प्रतिशत पेलोड पर्फमेन्स कम छ । प्रतिसिट प्रतिघन्टा ३३ देखि ६७ प्रतिशत बढी इन्धन खपत छ ।

एमए६० जहाजमा बारम्बार गरिरहने सिमुलेटर ट्रेनिङ खर्च अन्य विमानका तुलनामा ७८ प्रतिशत बढी छ । टाइप रेटिङ प्रशिक्षण अन्य विमानका तुलनामा ५० प्रतिशत बढी छ ।

एमए६० मा लेभल–सी सिमुलेटर ट्रेनिङ मात्रै उपलब्ध छ । काठमाडौंबाहेकका अपरेटिङ सेक्टरमा करिब ३० प्रतिशतसम्मको पेलोड प्रतिबन्ध छ । अन्य विमानका तुलनामा इन्धन खपत प्रतिसिट प्रतिघन्टा दोब्बर छ ।

सन् २०११ मा चीनले आन्तरिक उडान गर्न नेपाल सरकारसमक्ष दुई थान अनुदान र ४ थान सरल ऋणमा जहाजमा दिने प्रस्ताव गरेको थियो ।

चीनले दुई जहाज अनुदानमा दिने र बाँकी पनि एक्जिम बैंकमार्फत १.५० प्रतिशत ब्याजमा ऋण दिने प्रस्ताव गरेको थियो ।

Published : Tuesday, 2022 December 6, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया