व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्न आईजीपी सिंहको निर्देशन

सोलुखुम्बु । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रणको साथै जनअपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

मंगलबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण भ्रमण तथा मातहत प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा सिंहले सम्पूर्ण प्रहरी कर्मचारीहरूले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

उनले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरंशः पालना गर्न निर्देशन दिएका छन् ।

प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभभन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमीबाट हुने घटनाहरूलाई नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्न समेत उनले निर्देशन दिएका छन् ।

आईजीपी सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणको लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आवागमनलाई सहज र सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउनेतर्फ प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।

आपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरू नियन्त्रण गर्न, प्रकोपमा उद्दार कार्य गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने उनले बताएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरी लगायत प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 December 6, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया