यी हुन् काठमाडौंमै बालेनको हत्या गर्छु भनेर चेतावनी दिने मानिस, शान्ति सुरक्षाको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को हत्या गर्ने चेतावनी आएको छ ।

बागमती नदी कब्जा गरेर थापाथलीमा कथित सुकुम्बासी बसेका छन् । त्यो सुकुमबासीका घर टहरा भत्काउने क्रममा प्रदर्शनमा उत्रिएका व्यक्तिहरूले बालेनको हत्या गर्ने चेतावनी दिएका हुन् ।

मेयर शाहले आफूलाई हत्या गर्ने भनेर दिइएको चेतावनीको भिडियो सामाजिक सञ्जालमा सेयर गरेर शान्ति सुरक्षाको माग गरेका छन् । बालेनले तस्बिरमा देखाइएको ती व्यक्तिको भिडियो राखेका छन् । हत्या गर्ने चेतावनी दिने ती व्यक्तिको नाम खुलेको छैन ।

मेयर शाहले प्रश्न गर्दै लेखेका छन्, ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’

सोमबार सुकुम्बासीका घर टहरा भत्काउन गएका बेला कथित सुकुम्बासीहरूले घरेलु हतियारले आक्रमण गरेका छन् । उनीहरूको आक्रमणबाट सुरक्षाकर्मी घाइते भएका छन् ।

बागमती नदी कब्जा गरेर कथित सुकुम्बासीहरूलाई हटाएर मेयर शाहले बागमती नदीको संरक्षण गर्न लागेका छन् ।

तर, मेयर शाहको अभियानलाई केही अराजक तत्वले असहयोग गरेर स्वार्थ लिन खोजेको छ ।

काठमाडौं महानगरपालिकाको मयरमा निर्वाचित भएर आएपछि शाहले राम्रा काम गर्दै आएका छन् । उनले वर्षौंदेखि बेथिति र कब्जा गरिएका सरकारी जग्गा जमीन फिर्ता गराउन लागेका छन् ।

मेयर शाहलाई सहयोग गर्नुको साटो केही तत्वले धमिलो पानीमा माछामार्ने प्रयास गरेका छन् ।

यसअघि, थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सुकुम्बासीको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएका छन् ।

घाइतेमध्ये ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीले बताएका छन् । उनका अनुसार धेरै घाइतेको टाउकोमा चोट छ ।

उनीहरूमध्ये तीन जनाको भने आइसियुमा उपचार भइरहेको महानगरले जनाएको छ ।

नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धक बनाई घाइते बनाएको पनि महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् । यस घटनाको नेतृत्व गर्ने तथा संलग्न भएका व्यक्तिहरूको नाम समेत खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पठाएको उनले बताए ।

मंसिर ४ गतेभित्र नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो । स्थानीयले ढुंगा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेका थिए ।

Published : Monday, 2022 November 28, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया