दुई पटक संसद भङ्ग गर्ने अहँकारीलाई हराएर पाठ सिकाउन कांग्रेस नेता शाहको अपील

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य अभिषेकप्रताप शाहले गणतन्त्र समाप्त पार्ने शक्तिशाकाविरुद्धको मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रहेको बताएका छन् ।

कपिलवस्तु–३ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका नेता शाहले लोकतन्त्र र संविधानको रक्षा तथा विकासका लागि सत्तागठबन्धनले जित्नुपर्ने बताए । उनले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीप्रति लक्षित गरेर अहँकारीहरूलाई पराजित गर्नुपर्ने बेला आएको बताए ।

उनले भने, ‘मंसिर ४ गते हुन गइरहेको आम निर्वाचन कुनै एउटा क्षेत्र विशेषमा को सांसद निर्वाचित हुने र को पराजित हुने विषयसँग मात्र सम्बन्धित छैन । यो निर्वाचन त मुलुकको बागडोर र भविष्य कस्तो सोच र बिचारधारा राख्ने राजनैतिक दल तथा व्यक्तिहरूको हाथमा जाने हो भन्ने अहम मुद्दासँग जोडिएको छ ।’

‘एकातर्फ कांग्रेसको नेतृत्वमा रहेको बाम लोकतान्त्रिक गठबन्धन छ जसको उद्देश्य सबै जाती, धर्म तथा सम्प्रदायको बीचमा भाइचार कायम राख्दै देशलाई अग्रगमनको बाटोमा डो¥याउने हो’, नेता शाहले भने, ‘जबकि अर्कोतिर नेकपा (एमाले)को नेतृत्वमा रहेको अर्को गठबन्धन छ जसको निर्माण जसरी भएपनि सत्तामा पुगेर जाती, धर्म र सम्प्रदायको बीचमा द्वन्द्व सिर्जना गरी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने हो ।’

नेता शाहले भने, ‘पाँच वर्षको लागि जनताको अभिमतद्वारा गठन भएको प्रतिनिधि सभा दुई–दुई पटक अकालमै विघटन गरेर देशमा अराजकताको स्थिति सृजना गरी जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न खोज्ने षड्यन्त्रकारीहरू अहिले निर्वाचनको बेला पुनः आफ्नो पार्टीलाई सत्तामा पुर्‍याउन लाजै नमानी जनतालाई हार गुहार गरीरहेका छन् ।’

‘आफ्नै देशमा लाखौंको संख्यामा रहेका नागरिकता प्रमाणपत्र विहीन नागरिकको लागि संसदमा पेश गरिएको विधेयक असफल बनाउन न्वारान देखिको जोडबल लगाउने राजनीतिक दल संग प्रत्येक मतदाता चनाखो हुनु आवश्यक छ’, शाहले भनेका छन् ।

‘निर्वाचनको बेला आकर्षक चुनावी घोषणापत्र तथा नाराको भ्रमजालमा सोझासाझा जनतालाई फसाउने र चुनाव जिते पश्चात् लोकतान्त्रिक व्यवस्था नै समाप्त पार्ने कुचेष्टा गरि तानाशाही व्यवस्था लादने एमाले प्रवृत्तिलाई यसपालिको निर्वाचनमा निरूत्साहित गर्नु पर्छ’, उनले भने, ‘थुप्रै ज्ञात तथाअज्ञात शहीदको रगत तथा पसिना बगेर प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मत प्रदान गर्न समपूर्ण मतदाता दाजुभाइ तथा दिदी–बहिनीहरूलाई हार्दिक अपील गर्दछु ।’

कपिलवस्तु–३ बाट उम्मेदवारी दिएर घरदैलो र चुनावी अभियान चलाइरहेका युवा नेता शाह लोकप्रिय उम्मेदवार हुन् । उनलाई सत्तागठबन्धनको समर्थन छ ।

कपिलवस्तु–३ को प्रदेश सभातर्फ १ मा माओवादी केन्द्रका नेता एहसान अहमद खाँ र २ मा कांग्रेसका नेता वीरेन्द्र कनौडिया उम्मेदवार बनेका छन् ।

Published : Saturday, 2022 November 5, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया