मंसिर ४ नआउँदै मकवानपुर २ ‘२’मा कांग्रेसभित्र खुसीयाली, बागीको बबाल घोषणा
हेटौंडा । मकवानपुरमा खुसीलाल प्रजाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
मंगलबार प्रेस विज्ञप्ति जारी गरेर मकवानपुर–२ अन्तर्गत प्रदेश सभा (२) मा सत्तागठबन्धनबाट बागी उम्मेदवार बनेका प्रजाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । प्रजाले सत्तागठबन्धनकै उम्मेदवार बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँलाई सघाउने जनाएका छन् ।
उनले निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवार बानियाँलाई आफ्नो पूर्ण साथ समर्थन रहने जनाएका छन् ।
माओवादी केन्द्र नेता तथा चेपाङ संघ बागमती प्रदेश अध्यक्षसमेत रहेका प्रजाले उम्मेदवार छनौट प्रक्रियामा असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।
आफ्नो उम्मेदवारीले सत्तागठबन्धनको उम्मेदवारलाई क्षति हुने र संविधान र व्यवस्था विरोधीहरू नेतृत्वमा पुग्ने भएकाले सत्तागठबन्धनका उम्मेदवारप्रति आफ्नो समर्थन रहेको प्रजाले स्पष्ट पारेका छन् ।
‘मेरो उम्मेदवारीले माओवादी केन्द्रको नेतृत्वमा प्राप्त गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीहरूमा गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरूलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धतीमाथि नै घात हुने देखेकाले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन ईन्द्रबहादुर बानियाँलाई मेरो समर्थन रहेको जानकारी गराउँदछु’, प्रजाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एकीकृत समाजवादीका केन्द्रीय नेता एवम् पूर्वमन्त्री विरोध खतिवडा, माओवादी नेतृ कुमारी मोक्तान, एकीकृत समाजवादीकै सर्केश घलान र प्रतिनिधिसभा क्षेत्र नम्बर २ (२) का उम्मेदवार ईन्द्रबहादुर बानियाँकै रोहबरमा प्रजाले विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया