सन्दीप लामिछानेले किशोरीबारे दिए यस्तो बयान

काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले नाबालिका किशोरीसँग सँगै बसेको स्वीकार गरे पनि बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

बयानका क्रममा लामिछानेले होटेलमा सँगै बसेको स्वीकार गरेको स्रोतले जनाएको छ । ‘सन्दीप लामिछानेले होटलमा सँगै बसेको स्वीकारेका छन् । बलात्कार गरेको आरोप झुटो बताएका छन्’, प्रहरी उच्च स्रोतले भनेको छ ।

लामिछानेले आफू निर्दोष रहेको बयानका क्रममा बताएका छन् ।

‘ममाथि आरोप लगाउनेसँग होटलमा गएको सत्य कुरा हो’, स्रोतले भन्यो, ‘सँगै बसेको पनि सत्य हो । बलात्कारको आरोप झुटो हो ।’

‘म आरोप लगाउनेकै आग्रहमा होटलमा बसेको थिएँ’, लामिछानेको बयानको भनाइ उदृत गर्दै स्रोतले भनेको छ ।

लामिछाने प्रहरी हिरासतमा छन् । उनलाई अदालतबाट अनुमति लिएर प्रहरीले अनुसन्धान र बयान लिने कार्य गरिरहेको छ ।

लामिछानेलाई गौशाला प्रहरी वृत्तको हिरासत कक्षमा राखिएको छ । लामिछाने अन्य थुनुवासँगै बस्दै आएका छन् ।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट दुई पटक गरेर १२ दिन म्याद थप गरिसकेको छ ।

भदौ ५ गते राति लामिछानेले पीडित किशोरीलाई होटेल काठमाडौं इनमा प्रवेश गरेको सीसीटीभीको भिडियो प्रहरीले फेला पारेको छ ।

भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ ।

बलात्कार आरोप लागेका बेला लामिछाने जमैकामा क्रिकेट खेल्दै थिए । पछि उनी झण्डै एक महिना सम्पर्क विहीन भएका थिए ।

नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि पक्राउ पर्ने डरले लामिछाने नेपाल फर्किएर प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

लामिछाने अमेरिकाबाट नेपाल आएको बताएको छ । लामिछानेले बलात्कारको अभियोगबाट सफाइ पाउने अपेक्षा गरेका छन् ।

Published : Sunday, 2022 October 16, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया