काठमाडौंमा ५ हजार ओखलढुंगेलीको शानदार उपस्थिति, रामहरि-प्रदीप-बाबुरामले भोट मागे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा कांग्रेस र माओवादी केन्द्र मिलेर चुनावमा जितेर विकास भित्र्याउने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ओखलढुंगा मतदाताहरूको वृहत भेलामा बोल्दै खतिवडाले ओखलढुंगालाई सुगम जिल्ला बनाउनका लागि सत्तागठबन्धन चुनावमा प्रतिस्पर्धा गर्न लागेको बताए । उनले गाउँगाउँमा पिचसहितको बाटो, शिक्षा, स्वास्थ्य, उज्यालो ओखलढुंगाका लागि आफूहरूको उम्मेदवारी रहेको बताए ।

खतिवडाले मतदाताहरूसँग आशीर्वाद माग्न आएको उल्लेख गरेका छन् । उनले आफू कसैका विरुद्ध आलोचना गर्न नचाहेको भन्दै माओवादी र कांग्रेसका उम्मेदवारहरूलाई ओखलढुंगाका मतदाताले जिताउनुपर्ने बताए ।

प्रतिगामीको हातमा मुलुकको नेतृत्व जाँदा मुलुकमा संविधान, संसद, राष्ट्रियतामाथि खतरा भएको बताए । एमालेका अध्यक्ष खड्गप्रसाद ओली मण्डले र प्रतिगमनकारी शक्तिसँग मिलेर चुनावमा गएको बताए ।

ओखलढुंगामा स्थानीय तहको तथ्याङ्कले पनि सत्तागठबन्धनका उम्मेदवारहरू बलियो अवस्थामा रहेको बताए ।

उनले एमालेले प्रोपोगण्डाको राजनीति गरेको बताए । आफ्नै अखिलका कार्यकर्तालाई प्रवेश गराएर कांग्रेस र माओवादीका कार्यकर्ता प्रवेश गरेको भनेर हल्ला चलाएको बताए । बिगतमा एमालेलाई जनताले मतदात गरेर जिताएर पठाएको बताएका उनले ती जनप्रतिनिधिहरू जनताका बीच कसरी मत माग्न जान्छन् भनेर प्रश्न गरेका छन् ।

ओखलढुंगाको प्रतिनिधि सभातर्फ कांग्रेस नेता खतिवडाले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ ‘१’मा कांग्रेस नेता प्रदीप सुनुवार र ‘२’मा माओवादी केन्द्रका नेता बाबुराम गौतमले उम्मेदवारी दिएका छन् । ओखलढुंगामा एकीकृत समाजवादीले सहयोग गर्ने जनाएको छ ।

ओखलढुंगाबाट राजधानीमा आएर विभिन्न पेशा व्यवसाय गर्दै आएका करीव ५ हजार ओखलढुंगेली जनताको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालगायतको पनि उपस्थिति थियो ।

यसैबीच, खतिवडा खिजिदेम्बामा आयोजित सांस्कृतिक कार्यक्रममा पनि सहभागी भएका छन् । सो कार्यक्रममा प्रदेश सभाका उम्मेदवार कांग्रेस नेता प्रदीप सुनुवार पनि सहभागी भएका थिए ।

Published : Saturday, 2022 October 15, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया