ओली–उपेन्द्रको सहमतिको विरोध गर्दै केन्द्रीय सदस्य न्यौपानेले एमाले छाडे

काठमाडौं । एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमाले परित्याग गरेका छन् ।

शनिबार न्यौपानेले पत्र लेखेर एमालेको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको जनाएका हुन् । उनले आफू अब एमाले नभएर स्वतन्त्र बनेको जनाएका छन् ।

‘हिजो उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी जसपासँग एउटा राष्ट्रवादी पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको कहिले पनि हित नचाहने र भारतको ईशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टी जसपासँग जनताको माग विपरित पार्टी कार्यकर्ताको मागलाई वेवास्ता गर्दै जुन तरिकाले गठबन्धन गरेको छ त्यो देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएको हुनाले म आजको दिनबाट एमालेको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’, न्यौपानेको पत्रमा उल्लेख छ ।

पूर्वमन्त्री समेत रहेका न्यौपानेले भनेका छन्, ‘भावर आन्दोलनका शहीद र घाइतेप्रति उच्च सम्मान गर्दै आएकै दिनबाट स्वतन्त्र भई देश र जनताको हितमा रहि सदैव काम गर्नेछु ।’

उनले जनता समाजवादी पार्टी (जसपा)सँग एमालेले चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेका हुन् ।

न्यौपानेले जसपा अध्यक्ष उपेन्द्र यादवले देशको कहिले हित नचाहने व्यक्ति भएको आरोप लगाएका छन् ।

तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टीलाई न्यौपानेले एमालेमा बिलय गराएका थिए । न्यौपाने एमालेका सर्लाही जिल्ला सह–ईञ्चार्ज पनि हुन् ।

न्यौपानेले मंसिर ४ गते हुन लागेको निर्वाचनमा टिकटको अपेक्षा गरेका थिए । ओलीले टिकट नदिएपछि एमालेभित्र न्यौपाने असन्तुष्ट थिए ।

Published : Saturday, 2022 October 15, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया