कांग्रेस नेता लामाद्वारा नुवाकोटमा प्रदेशतर्फ मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले प्रदेश सभातर्फ प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

सोमबार नुवाकोट जिल्लाको क्षेत्र नं. २ को ‘ख’तर्फ उनले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराएपछि नेता लामाले प्रदेश सभाको औचित्यमाथि उठेको प्रश्नलाई पुष्टि गर्न आफूले प्रदेश सभामै उम्मेदवारी दिएको बताएका छन् ।

लामाले प्रदेशसभाको औचित्यमाथि उठेको प्रश्नलाई पुष्टि गर्न उम्मेदवार बनेको उल्लेख गरेका हुन् ।

लामाले भनेका छन्, ‘बदलिँदो राजनीतिक घटनाक्रमसँगै संघीयता र प्रदेश सभाको औचित्यमाथि उठेको प्रश्नलाई पुष्टि गर्न यो पटक प्रदेश सभामा रहेर काम गर्न पार्टीभित्रका साथीहरूले दिनुभएको सल्लाह र सुझावलाई आत्मसात गर्दै नुवाकोट क्षेत्र नं.२ प्रदेश सभा ‘ख’बाट मनोनयन दर्ता गरेको छु ।’

उनले भनेका छन्, ‘स्थानीय तह, संविधान सभा, प्रतिनिधिसभा, संसदका विभिन्न उपसमितिहरूमा रहेर काम गर्ने अवसर र जिम्मेवारीलाई तपाईंहरूको पक्षमा काम गर्न निरन्तर कोशिस गरिरहेँ ।’

‘तपाईंहरूको सुखमा, दुःखमा अनवरतसँगै रहने जमर्को सदैब रहिरह्यो’, उनले भने, ‘हिजोदेखि नुवाकोटको समग्र विकास र आम नागरिकको जीवनस्तरलाई परिवर्तन गर्ने सपना र संकल्पप्रति म सधैं दृढ र प्रतिबद्ध नै छु ।’

‘नुवाकोट क्षेत्र नं.२ बाट निर्वाचनमा सहभागी हुने ईच्छा र आकांक्षा रहे पनि पार्टीहरूबीचको आपसी तालमेल, बदलिँदो राजनीतिक घटनाक्रमसँगै संघीयता र प्रदेश सभाको औचित्यमाथि उठेको प्रश्नलाई पुष्टि गर्न यो पटक प्रदेश सभामा रहेर काम गर्न पार्टीभित्रका साथीहरूले दिनुभएको सल्लाह र सुझावलाई आत्मसात गर्दै, नुवाकोट क्षेत्र नं.२ प्रदेशसभा ‘ख’बाट मनोनयन दर्ता गरेको छु ।’

‘निर्वाचन जहाँबाट उठे पनि सिङ्गो नुवाकोटका जनताप्रति कर्तब्यनिष्ठ भएर काम गर्ने प्रतिबद्धतासहित तपाईंहरूको पूर्ण साथ र सहयोगको अपेक्षा गर्दछु’, कांग्रेसका नेता लामाले भनेका छन् ।

Published : Tuesday, 2022 October 11, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया