भण्डारीको चलखेल भइरहेका बेला प्रहरी मुख्यालयमा गृहसचिव, आईजीपीद्वारा स्वागत

काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले नेपाल प्रहरीको प्रधान कार्यालयको भ्रमण तथा निरीक्षण गरेका छन् ।

बिहीबार सचिव सिंहले नेपाल प्रहरीको प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गरेका हुन् ।

गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधन दिएका छन् ।

उनले संगठनको हीत र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गरेको बताएका छन् ।

उनले संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध र लगनशील हुन आग्रह गरेका छन् ।

आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिएका छन् ।

सिंहले प्रहरी कर्मचारीहरूले उच्चआचरण एवम् ईमानदारिपूर्वक सांगठनिक प्रतिवद्धतामा अविचलित भई जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृहसचिवबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समसामयिक र सान्दर्भिक निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले उत्कृष्ट रूपमा जिम्मेवारी वहन गरी सरकारबाट प्रशंसा पाएको स्मरण गरेका छन् ।

आईजीपी सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजना अनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने उल्लेख गरेका छन् ।

Published : Thursday, 2022 September 22, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया