मैले राजनीति गर्दा दुईहात थापेर भिख माग्नु पर्दैन, भ्रष्टाचार गर्दैन : कांग्रेस नेता राणा

चापागाउँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री उदयशम्शेर राणाले भ्रष्टाचार र झुठ बोल्नको लागि आफूले राजनीति नगर्ने बताएका छन् ।

सोमबार ललितपुरको क्षेत्र नं. १ मा आयोजित नेपाली कांग्रेसको कार्यक्रममा नेता राणाले अरुले जस्तो झुठको राजनीति र भ्रष्टाचार गर्नु आफ्नो उद्देश्य नरहेको बताए ।

नेता राणाले भने, ‘अरु पार्टीले मलाई केन्द्रित गरेर गाली गर्न थालेका छन् । उदयशम्शेर राणा कुपण्डोलमा बस्ने, धनीको छोरा, कांग्रेसको नेताको परिवारमा जन्मिएर सधैँ टिकट पाइरहने भनेका छन् ।’

‘म हुने खानेपारिवारमा जन्मेको हो । म त्यही परिवारमा जन्मिन्छु भनेर जन्मिएको पनि होइन’, राणाले भने, ‘हो म कुपण्डोलमा बस्छु । मेरो १० रोपनीको जग्गा छ । त्यो घर मैले बनाइन् । म जन्मिनुभन्दा अगाडि मेरो बुबाले बनाउनुभएको घर छ । के म सडकमा आएर सुत्ने ?’

उनले भने, ‘म कुपण्डोलमा जन्मिएको होइन । काठमाडौंको बबरमहलमा जन्मिएको हो । बबरशम्शेर मेरो बुढो हजुरुबुबा । म अत्यन्तै भाग्यमानि छु । हुनेखाने परिवारमा जन्मिएको कारणले मैले राजनीति गर्दा दुई हात थापेर कसैसँग भिख माग्नु परेन ।’

‘मैले एकपैसाको भ्रष्टाचार गरेर मेरो श्रीमतीको घाँटी र कानमा हिराको गहना लगाउने परिस्थिति भएको छैन । म आफै गर्न सक्छु’, नेता राणाले भने, ‘मेरो छोराहरू दुई जना छन् । उनीहरूलाई पढाउन अथवा समय–समयमा विदेश जानको निम्ति मैले विकासको पैसा चोरेर भ्रष्टाचार गरेर राजनीति गर्ने परिस्थिति मेरो अहिले सिर्जना भएको छैन । त्यो नै मेरो कमजोरी हो भने मेरो भन्नु केही छैन ।’

‘म एउटा बचन दिन चाहन्छु । मैले यो क्षेत्रमा राजनीति गरेको २५ वर्ष भयो’, राणाले भने, ‘यो क्षेत्रमा राजनीति गर्दा विशंखुनारायणमा मात्रै होइन, विशंखुदेखि खुलाचौर, चन्दनपुरदेखि गोटीखेल, माल्टादेखि चापागाउँ २५ वर्ष म चुनाव जित्नु अगाडि चुनाव हारिसकेपछि, चुनाव जितिसकेपछि फेरि पनि चुनाव हारिसकेपछि निरन्तर रुपमा यो २५ वर्षसम्म यो क्षेत्र र यो क्षेत्रका नागरिकहरूसँग नियमितरुपमा घुलमिल गरेर यो क्षेत्रको विकासबाट म कहिल्यै पनि पछाडि हटेको छैन ।’

‘राजनीति गर्न, सांसद र मन्त्री बन्न भ्रष्टाचारी हुनै पर्ने, झुठ बोल्नैपर्ने, फण्डा दिनै पर्ने, सेलिब्रेटी बन्नै पर्ने । यो कुरा म गर्न सक्दैन’, उनले भने, ‘ठूलो नाटक र अरुलाई गाली गर्न सकिदैन । भ्रष्टाचार, झुठ्ठा नाटक नगर्ने र विकास गर्ने नेता चाहिएको छ भने मलाई रोज्नु होला’, राणाले भनेका छन् ।

कांग्रेसका नेता राणाले भ्रष्टाचार मुक्त ललितपुर क्षेत्र नं. १ र जिल्लामा विकास गर्ने प्रतिवद्धता गरेका छन् । गठबन्धन र कांग्रेसको उम्मेदवारलाई जिताउनुपर्ने उनले बताएका छन् ।

‘गठबन्धनका साथीहरूलाई गाली नगरिदिनु होला । ललितपुर क्षेत्र नं. १ मा चुनाव अलिक छिटो लागेको छ’, उनले भनेका छन् ।

सोही कार्यक्रममा नेता राणाले विभिन्न पार्टीबाट आएका विनेश सिलवाल, जीवन तामाङ, सुजन सिलवाल, कान्छा विश्वकर्मा, जमुना पुर्कुटी, समिर सिलवाल, तारा सिलवाल, राम सिलवाललगायतलाई पार्टी प्रवेश गराएका थिए ।

Published : Tuesday, 2022 September 20, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया