केन्द्रको २६औं वार्षिकोत्सवमा आईजीपी सिंह सहभागी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीप) धिरजप्रताप सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

शनिबार केन्द्रको कार्यालय रानीबारीमा आयोजित कार्यक्रममा आईजीपी सिंह र केन्द्रकी अध्यक्ष कुशुमलता सिंहले केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पु¥याउने पूर्व अध्यक्ष सिर्जना थापालाई सम्मानपत्र प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रकी सदस्य जुनु श्रेष्ठ र कुसुम अधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

आईजीपी सिंहले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज र केन्द्रले आयोजना गर्ने विविध साँगीतिक कार्यक्रममा सहयोग गर्ने नेपाल प्रहरी संगीत विद्यालय महाराजगञ्जलाई प्रशंसापत्र प्रदान गरेका छन् ।

उनले केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पु¥याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०७९’ को विमोचन गरिएको छ ।

सिंहले लागूऔषध दुर्व्यसनीको उपचार र पुनर्स्थापना तथा लागूऔषधविरूद्ध सचेतनामार्फत् सामाजिक सुधार र सामाजिक सेवामा नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित केन्द्रले स्थापनाकालदेखिनै निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए ।

२०५४ सालमा स्थापना भई १०१ जना महिलासहित ५ हजार ६९८ जना लागूऔषध सेवनकर्तालाई परामर्श र उपचारद्वारा असल नागरिकमा रुपान्तरण गरी नयाँ जीवन दिन यस केन्द्रले तय गरेको सफल यात्राको निम्ति उनले समस्त केन्द्र परिवारलाई बधाई दिएका छन् ।

उनले लागूऔषध दुरूपयोग एक गम्भीर सामाजिक समस्या रहेको र सोही कारण समाजमा आपराधिक गतिविधि वृद्धि भई व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदायमा समेत प्रतिकूल असर पारिरहेको चर्चा गर्दै कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए ।

प्रहरीले लागूऔषध दुर्व्यसन र प्रयोगबाट सिर्जित परिणाम र घटनाक्रमको व्यवस्थापनका लागि लागूऔषध सम्बन्धी जनचेतना जगाउने हेतूले समुदाय–प्रहरी साझेदारी अन्तर्गत विशिष्टिकृत पाठ्यक्रम विकास गरी सक्रियताका साथ विद्यालय र समुदायमा सचेतना कार्यक्रम गरिरहेको समेत उनले उल्लेख गरेका छन् ।

अध्यक्ष सिंहले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरेकी छिन् ।

अध्यक्ष सिंहले हरेक दृष्टीकोणबाट चुनौतिपूर्ण बन्दै गएको लागूऔषध दुर्व्यसनीको समस्या समाधान गर्न लागूऔषध प्रयोगकर्ताहरूको उपचार, परामर्श सेवा एवं पुनर्स्थापना कार्यमा केन्द्र दत्तचित्त भई लागेको उल्लेख गरेका छन् । सचिव सीता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

केन्द्रमा उपचाररत सदस्यहरू र नेपाल प्रहरी संगीत विद्यालयका प्रहरी सहायक निरीक्षक रामबहादुर भुजेलले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

Published : Saturday, 2022 September 17, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया