खाणद्वारा अछाम पहिरोमा हेलिकप्टर पठाउन निर्देशन, उद्धार र राहतमा केन्द्रित हुन आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी घाइते भएका र प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् ।

खाणले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जिउँधनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरोमा परी घाइते भएकाको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।

जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखेर पठाउन खाणले निर्देशन दिएका छन् ।

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म नौ जनाको मृत्यु भएको छ ।

२० जना घाइते भएको जानाकारी आएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिएका छन् ।

उनका अनुसार कमलबजार नगरपालिका–६ को ठाँटीघाटमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

घाइतेमध्य तीन जनाको अवस्था गम्भीर रहेको जानकारी आएको उनले बताएका छन् ।

त्यस्तै कमलबजारकै वडा नम्बर ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको पनि उनले बताए ।

त्यस्तै ढकारी गाउँपालिका–१ मा घर पुरिएर तीन घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनले बताएका छन् ।

तुर्माखाद गाँउपालिकामा पनि ९ जना बेपत्ता भएको जानाकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताएका छन् ।

Published : Saturday, 2022 September 17, 1:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया