ठूला नेताहरूले भरिएको गुल्मीका रामुलाई हातखुट्ट बाँधेर राखियो, औषधि गर्ने पैसा भएन

तम्घास । गुल्मीको सत्यवती गाउँपालिका–५, हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अभिभावकले हात–खुट्टा बाँधी झोलुङ्गोमा झुन्डाएर राख्ने गरेका छन् ।

घरको जेठो सन्तान रामुलाई पछ्यौरीले हात–खुट्टा बाँधेर झोलुङ्गोमा राखेका हुन् ।

विगत सात÷आठ वर्षदेखि मानसिक रोगबाट पीडित रामुलाई उपचार गर्न नसक्दा यसरी बाँधेर राख्नुपरेको अभिभावकले बताएका छन् ।

मानसिक रोगबाट पीडित रामुले टाउको भुइँमा ठोकेर रगताम्मे बनाउने, शरीरभर चोट पार्ने, चिथोर्ने र कोपर्ने भएकाले बाँधेर राख्नुपरेको आमा देउकुमारी बुढाथोकीले बताएकी छिन् ।

मानसिक रोग लागेपछि रामु धेरै उफ्रने र टाउको भुइँमा ठोक्ने भएकाले लौरो देखाएर तर्साई सम्हाल्न नसकिने अवस्था आएको उनका बुबा कमल बुढाथोकीले बताए ।

उनका अनुसार जमीनमा टाउको बढी ठोक्ने भएकाले झोलुङ्गो बनाएर माथि राखिएको हो । रामुका लागि घरमा एक जना बस्नुपर्ने बाध्यता छ ।

उनलाई भारतसम्म लगेर उपचार गरिएको छ । तर, निको भएको छैन । रामुको उपचारमा धेरै पैसा लाग्ने भएपछि अभिभावकले बाँधेर घरमै राखेका छन् ।

सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले मानसिक समस्याबाट पीडित बालकको पालिकाले स्वास्थ्य बीमा गरी उपचारका लागि काठमाडौंसम्मको भाडा र उपचार खर्च दिने आश्वासन दिएका छन् ।

गुल्मी जिल्लाबाट नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का नाम चलेका केन्द्रीय नेताहरू छन् । उनीहरू पटक पटक मन्त्री र उच्च तहको लाभको पदमा पुगेका छन् । तर, रामु जस्ता बिरामीको उपचारमा दुई पैसा खर्च गरेर सहयोग गर्दैनन् ।

कांग्रेसका नेताहरू चन्द्र भण्डरी, चन्द्र केसी, भुवन श्रेष्ठ, मोती भण्डारी, एमालेका नेताहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, एकीकृत समाजवादीकी रामकुमारी झाक्रीलगायतका छन् ।

Published : Saturday, 2022 September 17, 9:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया