आइताबरदेखि सोह्र श्राद्ध शुरु

काठमाडौं । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आइतबारदेखि विधिवत् शुरु भएको छ ।

आरम्भकै दिन आइतबार प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्र विद् प्रा.डा.देवमणि भट्टराईले जानकारी दिएका छन् ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको छ ।

यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतम बताउँछन् ।

सोह्रश्राद्ध अपरान्ह कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेकोछ ।

जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतमले जानकारी दिएका छन् ।

Published : Sunday, 2022 September 11, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया