वरिष्ठ अभिनेता नीर शाह भन्छन्, ‘मेरो शवलाई चारतारे झण्डाले बेरेको हुनेछ’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् वरिष्ठ अभिनेता नीरबिक्रम शाहले मृत्यु हुँदा आर्यघाटमा आफ्नो शवलाई कांग्रेसको चारतारे झण्डाले बेरेको अवस्थामा सबैले देख्ने बताएका छन् ।

शनिबार धादिङको धुनीबसीमा आयोजित कार्यक्रममा अभिनेता शाहले भने, ‘म पूर्णरुपमा राजनीतिककर्मी हुँ । म प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गर्ने गरेर अगाडि बढेको छु ।’

‘म जन्मिँदा मेरी आमाले मलाई कुन थाङ्नोमा थाप्नुभएको थियो ? मलाई थाहा छैन । तर, भोलिका दिन मरेर जाँदा आर्यघाटमा मेरो शवलाई चारतारे झण्डाले बेरेको हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

उनले भने, ‘आफ्नो मृत्युका दिनसम्म संकल्पमा रहेर राजनीतिक क्षेत्रमा बढ्नुपर्दा मूल्य र मान्यतामा रहनेछु ।’

नेता शाहले जस्तोसुकै समाजिक कार्यको थालनी गरे पनि त्यसको मेरुदण्डको रुपमा कहिँ नकहिँ गएर राजनीति उभिएको हुने बताएका छन् ।

‘राजनीतिको कुरा गर्नुपर्ने आइलाग्छ’, उनले भने, ‘केक काट्दै गर्दा मेरो मनमस्तिष्कमा एउटा राजनीतिक घटना सलबलाउन थाल्यो ।’

उनले भने, ‘यो देशमा केही राजनीतिककर्मी पनि छन्, जन्मोत्सव मनाउनको लागि काठमाडौंदेखि केक मगाउँछन् । त्यो केक स्थानीय हातहरूले बनाएको हुँदैनन् । त्यो काठमाडौंको कुनै पाँचतारे होटेलमा बनेको हुन्छ । त्यसलाई बोकेर लाखौं रुपियाँ खर्च गरेर हेलिकप्टर त्यो स्थानसम्म पुग्नेगर्छ । मधुकरमा श्रेष्ठले बाँड्नुभएको केक स्थानीय हो । त्यसमा स्थानीय सीप मिसिएको छ । त्यसमा स्थानीय स्वाद मिसिएको छ । कुनै साथीले बोकेर मञ्चसम्म ल्याउनुभयो ।’

अभिनेता एवम् कांग्रेस नेता शाहले भने, ‘सामाजिक परिवेशबाट हेर्दा मुलुकको राजनीति हेलिकप्टरबाट केक बोकाउनेको हातमा पर्नुपर्छ कि ? स्थानीयलाई महत्वा दिनेको हातमा पर्नुपर्छ ? यस्ता कुरामा कहिँ नकहिँ राजनीति परिदृष्य झल्कीरहेको हुन्छ ।’

तत्कालीन झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संखुवासभामा हेलिकप्टरबाट महँगो केक मगाएर आफ्नो जन्मदिन मनाएका थिए । त्यसलाई व्याङ्ग गर्दै नेता शाहले कम्युनिस्ट होइन, कांग्रेस मतदान गर्न अपील गरेका छन् ।

‘एकजना जुझारु युवा नेता जसमाथि नेपाली राजनीतिको भविष्य गाँसिएको छ । अरु पार्टी पछाडि पर्दा त्यो पार्टी मात्रै पछाडि पर्ने हो’, शाहले भने, ‘नेपाली कांग्रेस पछाडि पर्दा राष्ट्र नै पछाडि पर्ने हो ।’

‘राष्ट्रलाई पछाडि पार्ने क्रममा धेरै नचाहिने विचारहरू सलबलाएको देखाएर यो बाध्यात्मक नामक गठबन्धन भएको हो’, उनले भने, ‘यो रहरले सिर्जना भएको परिस्थिति होइन । बाध्यातमक हो । यस्तो कठीन घडीमा पनि आफ्नो छनौट गलत दिशामा गर्नुभयो भने भोलि नयाँ पुस्ताले पछुताउनुपर्ने हुन जान्छ ।’

अभिनेता शाह कांग्रेसबाट टिकटमा दाबी गरेका छन् । उनले काठमाडौंमा टिकट दाबी गरका हुन् ।

कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका शाहले पार्टीले दिने जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्ने बताएका छन् ।

स्व.कृष्ण गोपाल फाउण्डेसनद्वारा धादिङको धुनीबेसीमा शनिबार आयोजित निःशुल्क स्वास्थ परीक्षण, औषधि तथा चस्मा वितरण कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ, धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी, कांग्रेस नेता मधुकुमार श्रेष्ठ, अभिनेता रविन्द्र खड्कालगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2022 September 10, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया