प्रहरीहरूको विश्वकै शक्तिशाली समिटमा सहभागी भएर फर्किए आईजीपी सिंह

काठमाडौं । नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीप) धिरजप्रताप सिंह स्वदेश आएका छन् ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो संयुक्त राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई आईजीपी सिंह शनिबार स्वदेश फर्किएको विज्ञप्तिमा उल्लेख छ ।

आईजीपी सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका उच्च अधिकारीहरूले स्वागत गरेका छन् ।

सिंहले समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र शान्तिको लाग कार्यको कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए ।

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले बताए ।

सिंहले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको बताए ।

समिटको क्रममा भएका औपचारिक एवम् अनौपचारिक छलफल समेत निकै फलदायी भएको उनले बताए ।

समिटका दौरानमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्र संघअन्तर्गत विभिन्न उच्च पदाधिकारीहरूसँग भेटघाट र वार्ताहरू गरेका थिए ।

समिटमा छलफलको क्रममा महिला सहभागिता बृद्धि गर्ने विषयमा पनि छलफल भएको छ ।

२०२२ मा नेपाल आउने, नेतृत्व तहको लागि प्रोत्साहन गर्ने तथा प्राथमिकता दिने, नेपालको सहभागितालाई थप व्यापक बनाउन तालिम प्रशिक्षकको लागि अतिरिक्त कोटा उपलब्ध गराउने तथा प्रशिक्षण कार्यमा खटाउने र नेपालमा राष्ट्र संघसम्बन्धी अन्तर्राष्ट्रिय तालिमहरू संचालन गर्ने लगायतका उपलब्धीहरू हासिल भएको छ । नेपालकोतर्फबाट एक एफपियू टोली आगामी जनवरीमा मालीको किडालमा परिचालन हुनेछ ।

भदौ १५ गते सुरु भई १७ गते सम्पन्न भएको उक्त समिटमा कूल १ सय ८१ देशका प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो ।

समिटमा नेपालको तर्फबाट संयुक्त राष्ट्र संघीय स्थाई नियोगका सैनिक सल्लाहकार महासेनानी जगदीश खड्का समेत ५ सदस्यीय टोली सहभागी भएको थियो ।

Published : Saturday, 2022 September 10, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया