पत्नीलाई सांसद बनाउन पूरै ‘गोठ’ माओवादीमा प्रवेश, महरा खुसीले गदगद

लमही । दाङमा पत्नीलाई सांसद बनाइदिने सहमतिमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्यसहितका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जसपाकी नेतृ एवम् भूमि आयोग दाङकी विज्ञ सदस्य लक्ष्मी चौधरीलाई समानुपातिक सांसद बनाउने सहमतिपछि उनका पति प्रकाश चौधरी माओवादीमा प्रवेश गरेको आरोप छ । प्रकाश चौधरी जसपाका केन्द्रीय सदस्य हुन् ।

प्रकाश र लक्ष्मीले यसअघि कांग्रेस र एमालेका नेताहरूसँग सांसद पदमा बार्गेनिङ गरेको एक नेताले बताए । प्रकाशकी पत्नी लक्ष्मीलाई माओवादीले समानुपातिक सांसद बनाउने लिखित सहमति गरेपछि पति र पत्नी माओवादीमा प्रवेश गरेका हुन् ।
यसअघि लक्ष्मी माओवादीमा प्रवेश गरेकी थिइन् । त्यसको हप्ता दिनपछि लक्ष्मीका पति प्रकाशसहित अन्य नेताहरू माओवादीमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरूले कुनै पद दावी नगरिएको दाबी गरेका छन् । जसपाको दाङ जिल्ला कार्यसमिति मााओवादी केन्द्रमा समाहित भएको माओवादीले दावी गरेको छ ।

तर, जसपाका जिल्ला समितिका अध्यक्ष जगतराम चौधरीले आफ्नो पार्टीलाई सिङ्गै राखेको जनाएका छन् । जसपाको दाङ जिल्ला समिति एकसय ५३ सदस्यीय रहेको छ ।

१ सय ३० जनाभन्दा बढीको समिति माओवादीमा प्रवेश गरेको जसपा दाङका अध्यक्ष होमप्रसाद शर्माले बताए ।

जसपा जिल्ला अध्यक्ष होमप्रसद शर्मा, उपाध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, जिल्ला सचिव लक्ष्मी चौधरीसहितको जसपाको जिल्ला कार्यसमिति माओवादी केन्द्रमा समाहित भएको छ ।

जसपाका केन्द्रीय सदस्य टोपबहादुर कार्की, प्रकाश चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रोशकी काण्डमा सभामुख पद गुमाएका माओवादी नेता कृष्णबहादुर महराले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् । महराले माओवादीमा प्रवेश गर्दा गौरव गर्न नवप्रवेशीहरूलाई आग्रह गरेका छन् ।

थारु समुदायको हकहितका लागि भनेर राजनीति गर्दै आएका प्रकाश चौधरी पत्नी लक्ष्मी चौधरीलाई सांसद बनाउन सबै कुरा भुलेपछि आलोचना भएको छ । प्रकाशको थारु मुक्तिको कुरा पत्नीमा गएर समाप्त भएको छ ।

Published : Saturday, 2022 September 10, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया