उप-मेयर एवं कांग्रेस नेता कायतको पहलमा ढोरपाटनका पीडितले पैसा पाउने, २ करोड ७० लाखको हिसाब माग

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिकामा दुई वर्ष अगाडि आएको बाढीपहिरोका पीडितहरूले पाउनुपर्ने सरकारी राहत पाउने भएका छन् ।

शुक्रबार ढोरपाटन नगरपालिकाका उप–मेयर एवम् नेपाली कांग्रेसका युवा नेता धनबहादुर कायत ‘कल्यान’ले प्रमुख जिल्ला अधिकारी रमेश ढकालसँग कुराकानी गरेर बाढीपहिरो पीडितलाई दिनुपर्ने राहतको रकम छिटो उपलब्ध गराउन आग्रह गरेका हुन् ।

उप–मेयर कायतको आग्रहपछि प्रमुख जिल्ला अधिकारी ढकालले नाता नखुलेका ५ जनालाई एक हप्ताभित्रै राहतको पहिलो कस्ताको ५० हजार रुयियाँ उपलब्ध गराउने आश्वासन दिएका छन् ।

कागजपत्र नमिलेका २० जना बाढीपहिरो पीडितहरूलाई दसैं अगाडि प्रक्रिया मिलाएर राहतको पहिलो किस्ताको नगद ५० हजार रुपियाँ दिने आश्वासन प्रमुख जिल्ला अधिकारी ढकालले दिएको उप–मेयर कायतले बताए ।

२०७७ साल भदौ १७ गते ढोरपाटनमा आएको बाढीपहिरोबाट ३७ जनाको मृत्यु भएको थियो । त्यस बेला कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता देवेन्द्र घर्ती मगरसहितका नेताहरूले राहत लगेर वितरण समेत गरेका थिए ।

बाढीपहिरो पीडितमध्ये ६४ जनालाई घर र भौतिक संरचना बनाउन जिल्ला प्रशासन कार्यालयमार्फत सरकारले पहिलो किस्ताको ५० हजारका दरले दिएको थियो ।

५ जनाले नाता नखुलेको कारण पहिलो किस्ताकै ५० हजार पाएका थिएनन् । २० जना पीडितको कागज पत्र नमिलेको भनेर सीडीओ कार्यालयले राहतको रकम रोकेको थियो ।

ढोरपाटनका बाढीपहिरो पीडितको राहतको रकमका लागि नगरपालिकाको तत्कालीन कम्युनिस्ट नेतृत्वले मन लगाएर पहल गरिदिएको थिएन । जबकी त्यस बेला झण्डै दुईतिहाईको कम्युनिस्ट सरकार थियो ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी ढकालले दसैं पछाडि राहतको रकमको दोस्रो किस्ता घर र भौतिक संरचना प्राविधिकले नामजाँच गरेर उपलब्ध गराउने आश्वासन दिएका छन् ।

तेस्रो किस्ता पीडितले घर र भौतिक संरचना बनाइसकेपछि दिइनेछ ।

यसैबीच, उप–मेयर कायतले ढोरपाटनका बाढीपहिरो पीडितका नाममा ढोरपाटन नगरपालिकाले एकद्वाराबाट वितरण गर्ने भनेर स्वदेश र विदेशबाट ढोरपाटन नगरपालिकाको ‘दैविक प्रकोप कोष’मा जम्मा गरेको २ करोड ७० लाखको हिसाब–किताब खोजेका छन् ।

तत्कालीन उप–मेयर कर्ममती पुन र नगरपालिकाका कर्मचारी चण्डीराज पौडेलले सञ्चालन गरेको संयुक्त खातामा २ करोड ७० लाख जम्मा भएको कर्मचारी चण्डीराज पौडेलले उप–मेयर कायतलाई जानकारी गराएका छन् ।

सर्वसाधारण र विभिन्न संघ/संस्था एवम् विदेशबाट संकतिल २ करोड ७० लाख रकम बैंकबाट निकालेर खाता बन्द गरेको भेटिएको छ ।

उप–मेयर एवम् कांग्रेसका युवा नेता कायतले त्यो २ करोड ७० लाखको एक/एक हिसाब किताब माग गरेका छन् । उनले सो रकमबाट बाढीपीडितले के कति पाए ? तत्कालीन जिम्मेवार व्यक्तिहरूले जानकारी दिनुपर्ने अन्यथा कानूनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन् ।

Published : Friday, 2022 September 9, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया