नेपालबाट मायाको पोको बोकेर फर्किए जनरल पाण्डे

काठमाडौं । नेपाली सेनाको निमन्त्रणामा काठमाडौं आएका भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे स्वदेश फिर्ता भएका छन् ।

पाँच दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरेर जनरल पाण्डे बिहीबार नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

भ्रमणमा रहेका बेला जनरल पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा जनरल पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । यो पद लामो समयदेखि भारतीय सेनाध्यक्षलाई प्रदान गर्ने परम्परा रहि आएको छ ।

पाण्डेले पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण पनि गरेका छन् । उनले भारतीय सेनाका भूतपूर्व सैनिकलाई सम्बोधन पनि गरेका छन् ।

पाण्डेले वीरता अवार्डका विजेतालाई सम्मान गरेको भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

जनरल पाण्डेकी पत्नी अर्चना पाण्डेले पनि वीर नारीलाई सम्मान गरेकी छिन् । पाण्डेले गोर्खा सैनिकको वीरता, साहस र समर्पणको प्रशंसा गरेका छन् ।

उनले नेपाली सेनाको पोखरामा रहेको मध्यकमाण्ड हेडक्वार्टरको भ्रमण गरी कर्मचारीसँग अन्तरक्रिया पनि गरेका छन् ।

जनरल पाण्डेले भूतपूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसीएचएस) अन्तर्गतका पोलिक्लिनिकलाई तीन वटा एम्बुलेन्स (मोबाइल मेडिकल युनिट) हस्तान्तरण गरेका छन् ।

एम्बुलेन्सले नेपालमा रहेका तीन लाखभन्दा बढी भारतीय सेनाका भूतपूर्व सैनिक र उनीहरूका परिवारलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पु¥याउनुका साथै दुर्गम क्षेत्रका बासिन्दाका लागि विशेष उपयोगी हुने विज्ञप्तिमा उल्लेख छ ।

उनले नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफकलेजको भ्रमण गरी विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गरेका थिए ।

दुई देशबीचको द्विपक्षीय सहकार्यअनुरुप, जनरल पाण्डेले नेपाली सेनालाई साइमुलेटर र हलुका सवारी साधनलगायतका तालिम उपकरण प्रदान गरेका छन् ।

Published : Thursday, 2022 September 8, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया