चोलेन्द्रका विवादित मान्छे धरौटीमा छुटे, करीव ३ महिना डिल्लीबजारको हावा खाए

काठमाडौं । उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसूरमा पुर्पक्षका लागि थुनामा रहेका विवादित व्यक्ति अमित श्रेष्ठलाई धरौटीम रिहा गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्वय राजेन्द्र खरेल र किरणकुमार पोखरेलको इजलासले श्रेष्ठलाई धरौटी वा जमानत माग गरेर छाड्न आदेश दिएको हो ।

आदेशपछि डिल्लीबजार कारागारमा रहेका श्रेष्ठ छुटेका छन् ।

यसअघि, श्रेष्ठलाई प्रहरीले बलियो प्रमाणसहित काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि धरौटीमा छाड्न अनुमति दिएको थिएन । तर, उच्च अदालत पाटनले श्रेष्ठलाई धरौटीमा छडिदिएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध श्रेष्ठ उच्च अदालत पुगेका थिए ।

उता, श्रेष्ठलाई नेपाल बार एसोसिएशनले समेत नोटिसमा राखेको छ ।

बारले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाल राष्ट्र बैंक ऐन कसूरमा मुद्दा खेपेका विचौलिया श्रेष्ठबीच सम्बन्धबारे लामो प्रतिवेदन तयार पारेको छ ।

एसोसिएशनले भदौ १२ गते प्रतिनिधि सभाको महाअभियोग छानविन विशेष समितिमा बुझाएको कागजात विवरण प्रतिवेदनमा जबरा र श्रेष्ठबीच ठूलो कनेक्सन भएको उल्लेख छ ।

श्रेष्ठको सम्पत्तिमाथि पनि छानविन गर्न बार एसोसिएशनले माग गरेको छ ।

प्रहरीले पनि श्रेष्ठका बारेमा धेरै कुराहरू फेला पारेको छ । हैसियतभन्दा धेरै कमाइ गरेका श्रेष्ठलाई बचाउन विभिन्न नेता, उच्च तहका व्यक्ति, होटेल रेष्टुरेन्ट व्यापारी र विचौलियाहरू लागेका छन् ।

बारले समितिलाई बुझाएको पत्र (प्रतिवेदन)मा भनिएको छ, ‘निज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू पदमा रहँदा पदको दुरुपयोग गरी आफै विकृति विसंगतीको संरक्षक भई आफ्ना–आफन्त, नातागोता, बिचौलिया, साथीभाई परिचालित गरि आर्थिक अनियमितता गरेको’, बारले भनेको छ, ‘विचौलियाको रुपमा घ्यू साहुको नामले चर्चित ललितपुरका व्यापारी, दीपक तिमल्सिना, अमित श्रेष्ठ समेतको संलग्नतामा भ्रष्टाचारजन्य काम गरे गराएको हुनाले निज दीपक तिमल्सिना, अमित श्रेष्ठ र घ्यू साहु समेतको सम्पत्ति छानविन गरी पाउँ ।’

बारले भनेको छ, ‘निज प्रधानन्यायाधीशले अदालतमा गैरकानूनी रुपमा आर्जन गरेको कालोधन आफ्ना सम्धी तिलक रावल, सम्धी रामशरण थापा, ज्वाइँ विनय रावल, भिनाजु केशव उप्रेती, दिदी, भाई प्रभुशम्शेर जबरालगायतको नाममा राख्ने गरेको खुल्न आएको हुँदा सो सम्बन्धमा ताहाँ समितिबाटै निजहरूको खाता तथा सम्पत्ति विवरण झिकाई बुझी प्रमाण लगाई पाउँ ।’
विभिन्न काण्ड र हर्कत गरेपछि जबरा प्रधानन्यायाधीश निलम्बनमा परेका छन् ।

जबराको अबैध सम्पत्ति र पैसा विवादित विचौलिया अमित श्रेष्ठले क्यानडा, अष्ट्रेलिया तथा नेपालका विभिन्न कम्पनी, बैठक, हाइड्रपावरमा लगानी गरिदिएको आरोप छ ।

अबैध क्रिप्टो करेन्सी प्ररणको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई प्रहरीले अनुसन्धान गर्ने क्रममा स्वदेशी र विदेशी बैंकहरूमा अकुत रकम र सम्पत्ति फेला पारेको थियो ।

निलम्बित प्रधानन्यायाधीश जबराको पावर भएका बेला न्यायपालिकाभित्र हालिमुहाली गरेका श्रेष्ठले खोरभित्र रहँदा पनि पावरको एक्सरसाइज गरेर सबैलाई चकित पारिदिएका छन् ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरणकुमार पोखरेलको आदेशमा धरौटीमा छुटेका विवादित व्यक्ति श्रेष्ठ आफ्नो मुद्दालाई कमजोर बनाएर सफाइ पाए भने अनौठो नमानेपनि हुन्छ ।

काठमाडौंको पानीपोखरीबाट श्रेष्ठ असार २९ गतेका दिन पक्राउ परेका थिए । श्रेष्ठ करीव ३ महिना डिल्लीबजारको जेलमा पुर्पक्षका लागि बसेर बाहिरिएका छन् ।

अमित श्रेष्ठको नाममा रहेको निम्न लिखित खातामा रकम रहेको पाइएको

(क) बैंक खाताहरू:

१. Common-Wealth Bank of Australia $1,94,285.56 रकम कारोवार भएको ।

२. Royal Bank of Canada $1,87,4421.38 रकम कारोवार भएको ।

३. Royal Bank of Canada बाट शेयर कारोवार समेत देखिएको ।

४. Everest Bank Ltd. को खाताबाट रु. २,०६,०६,६९२।- ( अक्षरेपी दुई करोड छ लाख छ हजार छ सय बयानब्बे) र NIC Asia Bank Ltd को खाताबाट रु. ६५,२४,९१०। ( अक्षरेपी पैसठ्ठी लाख चौबीस हजार नौ सय दश ) गरी नेपालमा बिभिन्न कम्पनीहरुमा सेयर लगानी रहेको पाइएको ।

५. Nabil Bank Ltd Nepal मा Canadian $ 67,596.00 र ने.रू. ६५,००,०००।– (अक्षरेपी पैसठ्ठी लाख) देखिएको ।
काठमाण्डौ महानगरपालीका वडा नं. १४ कलंकीमा जग्गा, ऐ महानगरपालीका वडा नं. ३ लाजिम्पाटमा जग्गा, ऐ पानीपोखरीमा 3A2 अपार्टमेन्ट गरी जम्मा $ 4,49,019 को सम्पत्ति रहेको ।

Published : Thursday, 2022 September 8, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया