नेपाललाई दक्षिण कोरियाले दियो ८ मिलियन डलर, २ नेताले पाए नियुक्ति

काठमाडौं । सरकारले दक्षिण कोरियाबाट प्राप्त ८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरूको स्थिर पुनः एकीकरणसम्बन्धी आयोजना सञ्चालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताए ।

अर्थमन्त्री जनार्दन शर्मा असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एसियाली विकास बैंकको बोर्ड अफ गभर्नन्सको ५५ औं वार्षिक बैठकमा सहभागी हुने भएका छन् ।

मन्त्रिपरिषदले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सरकारले निजीकरण समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णलाल महर्जनलाई मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

सरकारले नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र सह–सचिवस्तरीय अन्तर सरकारी उप–समितिको बैठकका लागि वार्ता टोली पनि गठन गरेको छ ।

Published : Wednesday, 2022 September 7, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया