सहकारीहरूलाई सुरक्षा दिन गृह मन्त्रालयमा पुग्यो पत्र

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेर सहकारीहरूलाई शान्ति सुरक्षा दिन आग्रह गरेको हो ।

केही सहकारी संस्थाहरूमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्यबाट कर्मचारी तथा सञ्चालकलाई अभद्र व्यवहार तथा कुटपिटसमेत भएको सहकारी मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सहकारी संस्थाले माग गर्दा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग सहकारी मन्त्रालयले आग्रह गरेको छ ।

पत्रमा भनिएको छ, ‘पछिल्ला दिनहरूमा केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा असुलीका क्रममा सदस्य तथा अन्य व्यक्तिहरूले संस्थाका कर्मचारी तथा सञ्चालकहरूलाई अभद्र व्यवहार तथा कुटपिट समेत गर्ने गरेको भनी सहकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन लेखि आएकोले सम्बन्धित सहकारी संघसंस्थाले माग गरेको बखत तदअनुरुप आवश्यक सुरक्षा व्यवस्था मिलाइदिनुहुन आदेशाअनुसार अनुरोध छ ।’

केही सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि बचकर्ताले सहकारीहरूमा धर्ना दिँदै आएको छन् ।

केही सहकारीलाई छाडेर अधिकांश सहकारीहरूले गलत मनसायले लगानी गर्दा संकटमा छन् । त्यस्ता सहकारीका कारण राम्रो काम गरेका सहकारी पनि विवाद र बदनामी भएका छन् ।

Published : Tuesday, 2022 August 30, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया