कांग्रेस नेता एवम् उप–मेयर कायतद्वारा सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्न माग, अन्यथा कठोर कदम उठाउने

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिकाका उप–मेयर कल्यान कायतले सालझण्डी–ढोरपाटन सडकको स्तरोन्नति र अन्य सडकहरू मर्मत सुधार गर्न माग गरेका छन् ।

केन्द्र सरकार र प्रदेश सरकारको बजेटमा बनिरहेका सडकहरूलाई छिटोभन्दा छिटो सम्पन्न गर्न उनले माग गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका उप–मेयर कायतले भने, ‘ढोरपाटनको मुख्य सडकको स्तरोन्नति गर्नुपर्छ । केन्द्र सरकारको योजनाका सडकलाई छिटो सम्पन्न गर्नुपर्छ ।’

उनले सडक मर्मत र सुधारमा भइरहेको ढिलाइ तथा ठेकेदारको लापरबाहीप्रति आक्रोश पोखेका छन् । समयमा काम नगर्ने ठेकेदारहरूलाई कानूनी कठघारामा उभ्याउनुभन्दा अर्को बिकल्प नरहेको उप–मेयर कायतले चेतावनी दिएका छन् ।

उप–मेयर कायतले भने, ‘म जनताको सेवक हुँ । जनतालाई सुविधान दिने कार्य मेरो दायित्व र काम हो । सरोकारवाला सरकारी निकायले आफ्नो जिम्मेवारी समयमा पूरा गर्नुपर्छ । कहिँ अबरोध छभने म सहयोग गरेर खुलाउँछु । होइन भने कानमा तेल हालेर बस्ने । काम नगर्ने हो भने जनता उठाएर मेरै नेतृत्वमा सडक कार्यालय होस् वा अन्य सरोकारवाला निकायमा घेराउ गर्न पछि पर्ने छैन ।’

सालझण्डी–ढोरपाटन सडक बन्यो भने ढोरपाटनको विकास र पर्यटनमा ठूलो सहयोग हुने बताएका उनले भने, ‘यो सडक बनाउन मेरो सहयोग र दवाव दुबै रहन्छ ।’

ढोरपाटन पर्यटनको हिसाबले ठूलो महत्व राख्छ । पर्यटन व्यवसाय फस्टायो भने स्थानीयहरूको आर्थिकस्तर वृद्धि हुने उप–मेयर कायतले बताएका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका उप–मेयर कायतमा केही गरौंभन्ने भावना छ । तर, विभिन्न कारणले हुने अबरोधले गर्दा समस्या भएको उनको भनाइ छ ।

Published : Monday, 2022 August 29, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया