कम्युनिस्टले हर्कत गरेपछि राप्ती कांग्रेसले नाङ्गेझार बनायो

मसुरिया । नेपाली कांग्रेस राप्ती गाउँपालिका, दाङले शिक्ष नियुक्ति प्रक्रियामा देखिएको कम्युनिस्टहरूको भद्रगोलप्रति चिन्ता जनाउँदै आक्रोश पोखेको छ ।

आइतबार विज्ञप्ति जारी गरेर राप्ती कांग्रेसका सभापति विद्याशरण चौधरीले शिक्षक नियुक्ति प्रक्रियामा कांग्रेसले भाग खोज्यो भनेर लगाइएको आरोपको खण्डन गरेका छन् । उनले कांग्रेसले सधैँ प्रक्रिया र नियमको पक्षमा आफूलाई उभ्याउँदै आएको जनाएका छन् ।

‘भदौ ११ गते राति ८ः३० बजे राप्ती गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको बालशिक्षादेखि कक्षा १० सम्म निःशुल्क शिक्षाका लागि शिक्षक छनोटको विषयमा राप्ती गाउँपालिकाको कार्यालयमा भएको घटनालाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसले शिक्षक छनोटमा भागवण्डा खोजेको भन्ने समाचारप्रति नेपाली कांग्रेस राप्ती गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘शिक्षक छनोट प्रक्रियामा बद्नियतपूर्ण मनाशयले पारदर्शी र निष्पक्ष नभएको व्यापक जनगुनासोप्रति समेत नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं ।’

सभापति चौधरीले भने, ‘शिक्षक छनोट प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यका साथ राप्ती गाउँपालिकाको कार्यालयभित्र सत्ता पक्षीय नेता, कार्यकर्ता एवं जिम्मेवार जनप्रतिनिधि बसेर शिक्षक छनोट प्रक्रियालाई प्रभावित पार्न खोजेको जानकारीको आधारमा हाम्रो पार्टीका जिम्मेवार पदाधिकारीहरू उपस्थित भई खबरदारी गर्दा आफ्नो गल्ती, कमजोरी सच्याउनुको सट्टा नेपाली कांग्रेसले भागवण्डा खोजेको भन्ने आरोप पूर्णरुपले निराधार तथा कपोलकल्पित रहेको जानकारी गराउन चाहन्छौं ।’

‘विगत पाँच वर्षको कार्यकालमा नेपाली कांग्रेसले राप्ती गाउँपालिका निष्पक्ष, पारदर्शी, समन्वयात्मक र विवादरहित ढङ्गले सञ्चालन गरेको स्मरण गराउन चाहन्छौं’, उनले भने, ‘साथै आगामी दिनमा पनि राप्ती गाउँपालिकाको हरेक क्रियाकलाप निष्पक्ष, पारदर्शी, समन्वयात्मक एवं जनमुखी हुनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको छ ।’

राप्ती कांग्रेसले भनेको छ, ‘विभिन्न माध्यमबाट नेपाली कांग्रेसमाथि लगाइएको झुठा र निराधार आरोपको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।’

कांग्रेसले भनेको छ, ‘यस्ता निन्दनीय एवं अपारदर्शी क्रियाकलाप तुरुन्त सच्याउनसमेत सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

कांग्रेसले आगामी दिनमा यस्ता क्रियाकलाप नरोकिएमा नेपाली कांग्रेस त्यसको कडा प्रतिवाद गर्ने जानकारीसमेत यसै विज्ञप्तिमार्फत गराउँदछौं ।’

Published : Sunday, 2022 August 28, 11:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया