रुपन्देहीमा कांग्रेस नेतृत्वको सरकारले विकासको ढोका खोलिदियो, गृहमन्त्रीको कुराले उत्साह थपियो

बुटवल । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको विकासले देशकै पहिचान बलियो बनाएको बताएका छन् ।

शनिबार बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रममा खाणले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धस्थल लुम्बिनीमा सम्पन्न हुन लागेको लुम्बिनी गुरुयोजनालगायतका पूर्वाधारहरूले देशकै गरिमा बढाएको बताए ।

‘लुम्बिनी संसारकै आस्थाको केन्द्र हो । रुपन्देहीको विकासले राष्ट्रिय महत्व राख्छ’, खाणले भनेका छन् ।

‘जेठ २ गते बुद्ध पूर्णिमामा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो’, उनले भने, ‘आज यहाँको सम्मेलन केन्द्र भयो, विश्वका धेरै देशहरूसँग सम्बन्ध बलियो बनेको छ ।’

‘एयर रुटको लागि प्रधानमन्त्रीले कुरा गरिरहनु भएको छ’, खाणले भने, ‘भारतीय प्रधानमन्त्री लुम्बिनीमा ल्याउन सकेकाले पनि रुपन्देहीको गरिमा बढेको छ ।’

बुटवलको सम्मेलन केन्द्रमा राज्यले गरेको लगानीको प्रतिफल निकाल्ने गरी अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।

गृहमन्त्री खाणले लुम्बिनीमा रहेका मोतीपुर र नौवस्ताको औद्योगिक क्षेत्र छिटो बनाउन स्थानीयको व्यवस्थापन गरेर अगाडि जाने सरकारको नीति रहेको बताएका छन् ।

कार्यदलले क्षेत्रफल तोकेर अस्थायी बसोबास गरेका नेपाली नागरिकलाई कसरी स्थायित्व बनाउने भन्ने विषयमा निचोड निकाल्ने उनले बताएका छन् ।

दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण भएको सम्मेलन केन्द्र बुटवल उप–महानगरपालिका–८ रामनगरमा निर्माण भएको छ ।

९.६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ ।

केन्द्रमा सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ ।

सम्मेलन केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङ र हेलिप्याड समेत बनाइएको छ ।

सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार भव्य कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

Published : Sunday, 2022 August 28, 8:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया