स्व.सूर्यबहादुर थापाको आत्मकथाको किताबको आवरण सार्वजनिक

काठमाडौं । पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँच पटक प्रधानमन्त्री’को आवरण सार्वजनिक भएको छ ।

काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्व.थापाका सुपुत्र सुनिलबहादुर थापाले पुस्तकको आवरण लोकार्पण गरेका हुन् ।

पुस्तकको आवरण सचिन यगोल श्रेष्ठ र उमेश काफ्लेले डिजाइन गरेका छन् ।

वि.सं. २०६५ सालबाट करिब चार वर्ष ३१० घण्टा कुराकानी गरी पुस्तक तयार पारिएको पुस्तकका ट्रान्स्क्राइबर गणेश पौडेलले बताए ।

केदार शर्मासँग सहकार्य गर्दै पुस्तक लेखनको काम गर्दाका समयलाई स्मरण गर्दै उनले भने, ‘राणाकालको अन्तिम दशकदेखि दोश्रो संविधानसभाको सभाध्यक्षसम्मको नेपाली राजनीतिको लामो कालखण्डलाई यस पुस्तकमा सूर्यबहादुर थापाको दृष्टीकोणबाट भन्ने कोसिस गरिएको छ ।’

राजनीतिको अति महत्वपूर्ण कालखण्ड मानिने पञ्चायतकालका छुटेका र महत्वपूर्ण विषयहरू पुस्तकमा समावेश भएको बताइएको छ ।

२०१७ साल पुस १ गतेको राजा महेन्द्रको पञ्चायत घोषणाको भाषणको ड्राफ्ट गरेका कुरादेखि राजा, दरबार र सत्ता दाउपेचका पहिला कतै नसुनिएका कुराहरू पुस्तकमा छन् ।

यति इमानदारीपूर्वक आत्मकथा कमै मात्रामा लेखिएका छन् र यो पुस्तक नै नेपाली राजनीतिको लामो कालखण्डको बयान भएको पहिलो पुस्तक हो ।

Published : Saturday, 2022 August 27, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया