खाणद्वारा पहुनी-शुद्धोधन पुलको शिलान्यास, कांग्रेसले विकास ल्याइदिएपछि कम्युनिस्टलाई तनाब

बुटवल । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाणले मोतीपुर औद्योगिक कोरिडोरको स्वामित्वमा रहेको जग्गाको पुनःमूल्याङ्कन गर्ने र सानो स्मार्ट औद्योगिक क्षेत्रको रुपमा त्यस क्षेत्रको विकास अघि बढाउने बताएका छन् ।

शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी र शुद्धोधन गाउँपालिका–३ बेननीस्थित तिनाउ पुलको शिलान्यास गर्दै विगतमा आफूले सरकारलाई औद्योगिक कोरिडोरको नक्सा जस्ताको तस्तै पास नगर्न र जनताको चाहना सम्बोधन गरेर अघि बढ्न सुझाव दिएको बताए ।

उनले औद्योगिक क्षेत्रको स्वामित्वमा नेपाल सरकारले हस्तान्तरण गरेको जग्गाका कारण त्यस क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका नागरिक विस्थापित हुने, निर्माण गरिएका भौतिक पूर्वाधार काम नलाग्ने गरी खेर जाने अवस्थासमेत देखिएकाले सानो तर, महत्वपूर्ण औद्योगिक क्षेत्र बनाउने बताए ।

सरकारले नागरिकको पीडालाई सम्बोधन गरेर मात्रै औद्योगिक कोरिडोर निर्माण कार्यअघि बढाइने गृहमन्त्री खाणले बताएका छन् ।

‘लालपुर्जा पाएकालाई बसोबासको अधिकार दिने, नपाएकालाई प्रक्रिया पु¥याएर लालपुर्जा दिने । बाँकी जमिनमा मात्र औद्योगिक क्षेत्रको विकास गरिनेछ’, उनले भनेका छन् ।

खणले तिनाउ र दानव नदी वारीपारीका नागरिकलाई आवागमनमा भएको विगतका कठिनाइको स्मरण गर्दै अहिले पुल र सडक सञ्जालले रुपन्देहीका ग्रामीण क्षेत्र तथा बजारलाई सहजै जोडेको बताए ।

उनले मुलुककै मध्य भागमा रहेको जिल्लामा सडक र पुलको पूर्वाधार विकासले कृषिउपजको बजारीकरणका लागि सहज हुने, उद्योग कलकारखाना खुल्ने र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन् ।

गृहमन्त्री खाणले तिलोत्तमा नगरपालिका हरित नगरको रुपमा विकास हुँदै गएको बताए ।

तिलोत्तमा नगरलाई ग्रिन तिलोत्तमा नगर बनाएर स्वच्छ, हरियाली नगरको रुपमा पर्यटकीय गन्तव्य बनाउन उनले सुझाव दिएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री बसीउद्दीन खाँले रुपन्देहीको विकासमा शिक्षा क्षेत्रको विकासले समेत राम्रो प्रगति हासिल गरेको बताए ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख एवम् नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले सडक, यातायात पूर्वाधार विकासको मूल प्रभाव भएको बताए । उनले निर्माण शुरु हुन थालेको पुलले रुपन्देहीको ग्रामीण क्षेत्रको कृषिको बजारीकरणमा महत्वपूर्ण हुने बताएका छन् ।

पुल निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीका प्रमुख डीबी खत्रीले स्थानीय सरकार र नागरिकको सहयोग पाएमा समयमै पुल निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त पुल विक्रम संवत २०७७ पुस २८ गते हिराचन कालीगण्डकी सिद्धार्थ जेभी, रुपन्देहीसँग २१ करोड १५ लाख ४१ हजार पाँच सयमा ठेक्का सम्झौता भएको छ ।

२०८० साल पुस २७ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको सडक विभाग पुल महाशाखा नेपालगञ्जले जनाएको छ ।

पुलको लम्बाइ दुई सय मिटर र चौडाइँ ११ मिटर रहनेछ । पुलको दुवैतर्फ वारीपारी कालोपत्रे गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

पुल निर्माण सम्पन्न भएपछि पनि मर्मतको जिम्मेवारी पाँच वर्षसम्म कम्पनीकै रहने छ ।

गफाडी कम्युनिस्टहरूले विकास गर्न नसकेका बेला गृहमन्त्री एवम् कांग्रेस नेता खाणले पुलको शिलान्यास गरेपछि एमालेलाई तनाब भएको छ ।

Published : Saturday, 2022 August 27, 10:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया