ईश्वरको उपन्यास ‘मध्यान्ह, झुल्के घाम र गोधूली’ सार्वजनिक, युवालाई साहित्यतर्फ आकर्षित गर्ने

काठमाडौं । लेखक तथा पत्रकार ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह, झुल्के घाम र गोधूली’ सार्वजनिक गरिएको छ ।

शुक्रबार काठमाडौंमा आख्यानकार बुद्धिसागर, लेखक तथा पत्रकार वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका लेखक ईश्वरले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

आख्यानकार बुद्धिसागरले उपन्यासमा लेखकले चली आएको शैलीबाट मुक्त भई नयाँ शैली प्रयोग गरेको बताए ।

‘उपन्यास शुरु कसरी भएको छ, त्यसपछि म पूरा पढ्ने कि नपढ्ने निर्धारण गर्छु’, उनले भने, ‘नेपाली भाषाका उपन्यासमा प्राम्भमा खासै काम हुन्न । तर, उहाँले सुरूवात प्रभावकारी ढङ्गले गर्नुभएको छ ।’

बुद्धिसागरले भनेका छन्, ‘पुस्तकको कथा भन्ने शैली राम्रो लाग्यो ।’ भने ।

लेखक तथा पत्रकार वसन्त बस्नेतले ईश्वरको उपन्यासले पत्रकारको इतिहास लेख्न सकेको बताएका छन् ।

‘इतिहासको ड्राफ्ट पत्रकारिताले कोर्ला । पत्रककारको इतिहास भने ईश्वरजीको उपन्यासले लेखेको छ’, वसन्तले भने, ‘उहाँले पत्रकारिता जीवनमा आफू र आफूले भोगेको संघर्षलाई उपन्यासमा कथा बनाउनुभएको छ ।’

लेखक वसन्तले ईश्वरले उपन्यासमा पात्रहरूको परिवेश र अन्तरसंघर्षबारे मीठो शैलीमा प्रस्तुत गरेको बताएका छन् ।

‘ईश्वरजी पहाडमा हुर्कनुभयो । तर, उहाँको कथा तराईमा सरल बग्ने कोसीजस्तो छ’, वसन्तले भनेका छन् ।

विक्रम संवत २०४६ सालयता नेपालमा भएका राजनीतिक परिवर्तनलाई आम मान्छेको आँखाबाट उपन्यास लेखिएको वसन्तले बताएका छन् ।

समाजशास्त्री नारायणी देवकोटाले देशको राजनीतिक परिवर्तनलाई रोचक ढङ्गले लेखकले उपन्यासमा प्रस्तुत गरेको बताइन् ।

‘उहाँको उपन्यासले पात्रको जिन्दगीबाट इतिहास भन्छ’, नारायणीले भनेकी छिन्, ‘किनारामा बसेर साक्षीले भन्दा ऐतिहासिक कुरा आउँछु ।’

उपन्यासका लेखक ईश्वरले आफूले देखेको र भोगेको परिवर्तनलाई उपन्यासका रुपमा लेखेको बताएका छन् ।

‘समाजमा एउटा वर्गलाई अर्को वर्गले सधैं प्रश्न उठाउँछ’, ईश्वरले भने, ‘जसले बढी प्रश्न उठाउँछ, ऊ बढी जवाफदेही हुनुपर्छ । तर, कालान्तरमा प्रश्न गर्ने मान्छे जवाफदेही नभएको पाएँ ।’

ईश्वरले भनेका छन्, ‘देशमा परिवर्तन भए पनि सामान्य मानिसको आँखाले कसरी हेरिरहेको छ त ? त्यही आम मान्छेको आँखाबाट हेरेर उपन्यास लेखेँ ।’

उपन्यासलाई सांग्रिला बुक्सले बजारमा ल्याएको छ ।

Published : Saturday, 2022 August 27, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया