कांग्रेस कमजोर बनाउन नेतालाई गाली गर्ने गिरोहको खतिवडाले सातो लिए

ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले नेताहरूलाई गाली गरेर रमाउने प्रवृत्तिको आलोचना गरेका छन् ।

ओखलढुंगाको मोलुङमा शुक्रबार कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियानमा बोल्दै खतिवडाले नेतृत्वको आलोचना गरेर कांग्रेसको संगठन निर्माण नहुने बताए । उनले कांग्रेसलाई बलियो बनाउन सबै मिल्नुपर्ने बताएका छन् ।

‘नेतालाई गाली गरेर, एउटाले अर्कोलाई आलोचना गरेर संगठन बढ्ने होइन’, उनले भने, ‘तपाईहरूले एउटा प्रण गर्नुपर्छ । म कांग्रेसको एउटा कार्यकर्ता हो । केही पनि नपाई कांग्रेसलाई सफल बनाउँछु भनेर प्रतिबद्ध बनेर लाग्नुपर्ने बेलामा एउटाले अर्काको व्यक्तिगत आलोचना गर्न जान हुँदैन ।’

उनले भने, ‘मैले सुने कांग्रेसका नेता आउँछन् जान्छन्, ढ्याप मार्छन् जान्छन् भन्ने पनि सुने ।’

‘कसैको प्रशंसा होइन । हामीले नजित्दासम्म मोलुङ खोलामा पुल बन्न सकेन’, खतिवडाले भने, ‘हामीले पुल निर्माण गरेका छौं । सडक बनेका छन् ।’

‘हाम्रो बलबुताले वडाध्यक्ष जितेका छौं । हामी मिल्यौं भने कांग्रेसलाई हराउने ताकत कसैको हुनेछैन’, उनले भनेका छन् ।

‘गाली गर्दा ताली पाइन्छ । तर, समाधान पाइँदैन । गालीगलौज गर्न चाहँदैनौँ’, उनले भने, ‘कसैलाई तितो पोख्ने बेला होइन । एउटा कांग्रेसले अर्को कांग्रेसको आलोचना गर्ने ? क्रान्तिकारी हुँभन्ने ? सँगठन त्यसरी निर्माण हुन्छ ।’

‘संगठन निर्माण हुने भनेको एउटाले अर्कोलाई सम्मान गरेर हो, इज्जत गरेर हो, माया गरेर हो । त्यो वातावरण बनाउनुपर्छ’, उनले भनेका छन् ।

‘कहिल्यै नजितेको लिखु जितेका छौँ । नगरपालिका जितेका छौँ । सबै साथीलाई लिएर जाने परम्परा भएको छ’, नेता खतिवडाले भने, ‘गुटलाई हेरेर होइन असललाई समेटेर हिँडेका छौँ । गुटका आधारमा होइन, असललाई टिकट दिने हो ।’

उनले भने, ‘मसँग नजिक छ भनेर, त्यसले जनताका बीचमा गएर काम गर्न सक्छ कि सक्दैन ? जनताको भावना प्रतिनिधित्व गर्न सक्छ कि सक्दैन ? बिहान चिया खान आउने, बेलुका यसो गफ गर्न आउने, बिहान दुइटा सरुवा भन्न पनि जाने, मलाई टिकट चहियो भनेर होइन । जनताको भावनाको विकास, जनताको मन र भावना कदर गर्न सक्ने व्यक्तित्वलाई आज कांग्रेसले छानेर लिएर हिँड्नुपर्छ ।’

‘जसले पाओस् टिकट, कांग्रेसमा यो र त्यो होइन, टिकट पाउनको लागि धेरै योग्य साथीहरू हुनुहुन्छ’, उनले भने, ‘टिकट पाउँदा वा नपाउँदा कांग्रेसको झण्डा र रुखलाई लिएर रुखलाई जिताउन हामी हिँड्ने हो । हामीले मुख होइन, रुखलाई हेर्ने हो ।’

‘कम्युनिस्टले जितेका छन् । काम केही गरेका छैनन् । फेसबुकमा फोटो होल्ने’, उनले भने, ‘कम्युनिस्टको चरित्र त्यो हो । तपाईहरू त्यसलाई पश्रय दिने हाम्रा साथीहरू आउनुभयो ।’

‘अनि हाम्रै साथीहरूको आलोचना मञ्चमा आएर तपाईहरूले गर्नु थाल्नुभयो’, उनले भने, ‘म केन्द्रीय सदस्यको नाताले पनि तपाईहरूलाई अनुरोध गर्न चाहन्छु । पार्टीका कुराहरू मैमत्ता भएर, हात्ती जस्तो भएर, बाहिर ल्याएर नेतालाई गाली गरेर पार्टी सँगठन दह्रो हुँदैन ।’

उनले भने, ‘हामीले देखेका छौँ । राष्ट्रिय व्यक्तित्व । गणेशमानजी पार्टीभन्दा बाहिर जाँदा के भएको थियो हामीले देखेका छौँ ।’

‘आफ्नो वडा बलियो नबनाउने । यहाँ आएर नेतालाई गाली गर्ने । वडा हराउने अनि नेतालाई सत्तोसराप गर्ने । टोल, वडा बलियो आफैले बनाउने हो । हामी बलियो बनायौँ भने कांग्रेस बलियो हुन्छ’, नेता खतिवडाले भनेका छन् ।

‘२०७४ मा १० हजार भोटले कम्युनिस्ट साथीहरू अगाडि हुनुहुन्थ्यो । मै उठेको थिएँ चुनावमा मलाई पनि थाहा होला केही कुराहरू’, उनले भने, ‘कसैको अहिले आलोचना गर्न पनि चाहन्न । कसैलाई गाली पनि गर्न चाहन्न । कम्युनिस्टको ५ हजारभन्दा बढी भोट हामीले तान्न सफल भयौँ । तैपनि पराजित भयौँ । गठबन्धन भएको थिएन भने सबै सिट जित्ने थियौँ ।’

उनले ओखलढुंगाको प्रतिनिधि सभा र एउटा प्रदेश क्षेत्रको टिकट कांग्रेसले पाउने बताएका छन् । अर्को प्रदेश सिट माओवादीले पाउने उनले बताए ।

Published : Friday, 2022 August 26, 11:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया