मंसिरको चुनाव सफल बनाउन जिल्ला ईञ्चार्जहरूलाई आईजीपी सिंहको शक्तिशाली आदेश

पोखरा । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताएका छन् ।

आइतबार पोखरामा गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले कहिलेकाहीँ अपराध अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयबीच एकापसमा अविश्वास उत्पन्न भएको विषय सार्वजनिक हुने गरेको बताए ।

‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास आवश्यक छ’, उनले भनेका छन्, ‘यस्तो अवस्थामा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’

एकले अर्कोलाई आरोप लगाउने, अपराध अनुसन्धान राम्रो नभएको, सही अभियोजन नभएको र कहिलेकाहीँ न्यायालयबारे विभिन्न टिप्पणी हुने गरेको भन्दै उनले यो तीनवटै निकायका लागि राम्रो नभएकाले यसको निराकरणका लागि विश्वास, समन्वय र सहयोग आवश्यक रहेको बताए ।

प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने भन्नेमा विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने आईजीपी सिंहले बताए ।

प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउनसके उच्च मनोबलका साथ अघि बढ्ने उनको भनाइ छ ।

आईजीपी सिंहले मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोहीअनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आयोजना गरेको अपराध अनुसन्धान गोष्ठीले गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण मुद्दा चल्ने प्रहरी कार्यालयबीच आपसी समन्वय बढाएर अपराध अनुसन्धानमा दक्ष बनाउने आईजीपी सिंहले विश्वास गरेका छन् ।

गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले पछिल्लो समय अपराधका स्वरुप फरकफरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाइ अपराध अनुसन्धानमा लाग्नुपर्ने बताए ।

मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले राजनीति र भनसुनको प्रभावलाई कम गर्नसके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताए । उनले अपराधका प्रकृति र प्रवृत्ति फरकफरक हुँदै गएको बताए ।

साइबर क्राइम पनि बढ्दो भएकाले अब प्रहरीलाई प्रविधियुक्त हिसाबले अपराधको अनुसन्धान गर्न सक्षम बनाउन आवश्यक रहेको एआईजी सुवेदीले बताए ।

नेपाल प्रहरीको अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले अपराध अनुसन्धान जटिल हुँदै गएको अवस्थामा यसको समीक्षा र अनुसन्धानलाई कसरी सशक्त बनाउने विषयमा गोष्ठीमा छलफल हुनुपर्ने बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी रामदत्त जोशीले फौजदारी न्याय प्रणालीका तीन खम्बा सुदृढ भएमात्रै अपराध अनुसन्धानको सार्थकता हुने भन्दै प्रहरीलाई दबाव, प्रभाव र अभावमुक्त बनाउनु पर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरूले आ–आफ्नो कार्यलयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा गरिएका नवीन प्रयोगहरूको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

Published : Tuesday, 2022 August 9, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया