कांग्रेसका युवा नेता शेर्पा चुनाव लड्ने तयारीमा, दिए देशभरि कांग्रेसले जित्ने यी सुझावहरू

कर्माछिरिङ शेर्पा, युवा नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता कर्माछिरिङ शेर्पाले पनि प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने संकेत गरेका छन् । काठमाडौंको बुढानिलकण्डमा बस्दै आएका शेर्पा कांग्रेस नेता एनपी साउद नेविसंघको अध्यक्ष रहेका बेला केन्द्रीय सदस्य थिए । बालकृष्ण खाण अध्यक्ष रहेका बेला नेपाल तरुण दलको केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयको कार्यालय सचिव भएर पनि काम गरिसकेका छन् । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा भएपछि युवा नेता शेर्पाले प्रतिनिधि सभातर्फ टिकटका लागि पार्टीमा पहल गर्ने तयारी गरेका छन् । शेर्पा खेलकुद क्षेत्रका चर्चित व्यक्ति पनि हुन् । सोही विषयमा कांग्रेसका युवा नेता शेर्पासँग हाम्रा सम्वाददाता विमल योगीद्वारा गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

चुनावमा उम्मेदवार बन्ने कि नबन्ने ?

पार्टीको इमान्दार सिपाहीको रुपमा अहिलेसम्म निरन्तर रुपमा काम गरिरहेको छु । नेविसंघको तलैदेखि केन्द्रीय सदस्यसम्म भएको छु । त्यस बेला नेविसंघमा मेरो अध्यक्ष एनपी साउद दाई हुनुहन्थ्यो । बालकृष्ण खाणको पालामा केन्द्रीय कार्यालयको सचिव थिएँ । खेलकुदका विभिन्न पदमा बसेर काम गरेको छु । महाधिवेशनबाट पार्टीको पटक/पटक जिम्मेवारी लिएको छु ।
पार्टीमा लागेको पनि धेरै भइसकेको छ । ०४५ सालदेखि निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय छु । ३०/३५ वर्ष भइसक्यो । पार्टीले अहिलेसम्म कुनै पनि जिम्मेवारी दिएको छैन ।

अहिलेको आवश्यक्ता भनेको नेपाली कांग्रेसमा जनताको चाहना के छ ? भने पार्टीमा योगदान दिएको फ्रेस नेताहरू, जनताप्रति केही गर्न सक्ने नेताहरू आकांक्षाहरू बढिरहेको छ ।

यस पटक कांग्रेसले धेरैभन्दा धेरै उम्मेदवारहरू फ्रेस अर्थात जनताको गुनासो नभएकाहरू दिँदा राम्रो हुन्छ जस्तो लाग्छ । पार्टीले जिम्मेवारी दिएको खण्डमा प्रतिनिधि सभाको चुनावमा पार्टीले जुनसुकै क्षेत्रमा जिम्मेवारी दिएमा म चुनाव लड्न तयार छु । पार्टीले खटाएको खण्डमा, पार्टीले अह्राएको खण्डमा, पार्टीले जिम्मेवारी दिएको खण्डमा चुनाव लड्नको लागि तयार छु ।

तपाईको निर्वाचन क्षेत्र कहाँ हुन्छ ?

मैले तोकेर माग्नेभन्दा पनि पार्टीले विचार गरेर मलाई जिम्मेवारी दिने हो । पार्टीका ठूला (वरिष्ठ) नेताहरू रहेको क्षेत्रमा मैले निर्वाचन लड्ने कुरा राख्नु पनि भएन । पार्टीले काठमाडौं उपत्यकाभित्रकै कुनै पनि क्षेत्र दियो भने पनि म निर्वाचन लड्न तयार छु । जित्ने विश्वास पनि छ । काठमाडौं उपत्यकाभित्र फ्रेस नेताहरूलाई टिकट दिनुपर्छ भन्ने सुझाव छ ।

टिकटका लागि अब के गर्नु हुन्छ ?

मलाई टिकट दिनै पर्छ भन्ने पक्षमा छैन । म पनि धेरै वर्ष पार्टीमा लामो समयदेखि काम गरेको हुनाले हामी जस्ता फ्रेस व्यक्तिलाई पनि टिकट दिँदा राम्रो हुन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राखेको छु । कुनै दाग लागेको छैन । इज्जत राखेर काम गरेको छु ।

तपाईलाई पार्टीले प्रदेश सभातर्फ उम्मेदवार बन्न निर्देशन दियो भने के गर्नु हुन्छ ?

पार्टीले त्यस्तो भन्ला जस्तो लाग्दैन । प्रदेश सभातर्फ धेरै उम्मेदवारहरूको सूची छ । प्रदेश सभातर्फ उम्मेदवार बन्नेबारे मैले सोँच बनाएको छैन ।

कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ टिकट छैन । समानुपातिकमा बस्नुस् भन्यो भने के गर्नु हुन्छ ?

पाइयो भने सकेम्म प्रत्यक्षतर्फ चुनाव लड्ने हो । पार्टीले समानुपातिकमा बस्न भनेर समानुपातिकतर्फको चुनावमा भाग लिन निर्देशन दिएमा मैले मान्नै पर्ने हुन्छ ।

स्वतन्त्र र नयाँ पुस्ताले जित्छ भन्छन् । यस्तो अवस्थामा तपाईको एजेण्डा के हुन सक्छ ?

नेपाली कांग्रेसको सिद्धान्त एकदमै राम्रो छ । कांग्रेसको सिद्धान्तलाई साँच्चिकै रुपमा व्यवहारमा उतार्ने आँट चाहिन्छ । वीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादमा हामीले प्रजातन्त्रमा मात्रै अभ्यास गर्‍यौं । आर्थिक समाजवाद अहिलेसम्म हामीले लागू गर्न सकेका छैनौं ।

नेपालको विकासको हरेक मोडल समाजवादी अर्थनीति आकर्षित गर्ने खालको आर्थिक नीति बनाउनुपर्छ । नेपालले धेरै कुरामा लगानी गरेर सक्दैन । नेपालको लगानीको प्राथमिकता कृषि, पर्यटन र जलस्रोत यो तीन वटा उद्योगलाई राष्ट्रिय गौरवको योजनाका रुपमा लग्न सक्यौं भने हामी नेपाल आर्थिक रुपले धेरै समृद्ध हुन्छ ।

कृषिमा आत्मनिर्भर हुनको लागि हामीसँग जमीन छ । त्यसको उपयोग नीति अहिलेसम्म हामीले लागू गर्न सकेका छैनौं । कृषिको अनुदान, किसानलाई सहुलियत दिने काम अहिलेसम्म गर्न सकेका छैनौं ।

पर्यटन नेपालको हरेक क्षेत्र उपयुक्त छ । पर्यटनमा मैत्रीपूर्ण लगानी गर्ने वातावरण छैन । सरकारको नीतिमा लचकता ल्याउनुपर्छ । पर्यटन व्यवसायलाई उत्साहित गर्ने खालको कार्यक्रम ल्याउनुपर्छ । जसले धेरैभन्दा धेरै पर्यटकहरू नेपालमा भित्र्याएर विदेशी मुद्रा कमाउने ठूलो स्रोत विकास गर्नुपर्छ ।

जलस्रोत मुख्य मेरुदण्ड हो । ८३ हजार मेगावाट विजुली हामीले उत्पादन गर्न सक्ने क्षमता छ । अहिले पनि बेलाबेला नेपालमा लोडसेडिङको समस्या छ । यो दुर्भाग्यको कुरा हो । कम्तिमा २० देखि ३० हजार मेगावाट विजुली उत्पादन गरेर नेपाललाई ग्यासको आयात बन्द गर्न सकिन्छ । पेट्रोल र डिजेललाई ८० प्रतिशतसम्म विस्थापित गरेर आयात कम गर्न सकिन्छ । विदेशी मुद्रा भित्र्याउन सकिन्छ ।

Published : Sunday, 2022 August 7, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया