सामाजिक सञ्जाल र न्यू मिडिया व्यवस्थित बनाउन साझा आचारसंहिता : अध्यक्ष बस्नेत

नैरोबी । प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा सामाजिक सञ्जाल र न्यू मिडियालाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ ।

अफ्रिकी मुलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारण सभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरै खालका प्रयासहरू भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी भइसकेको बताए ।

‘हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयासहरू गरेका छौं’, अध्यक्ष बस्नेतले भने, ‘यसलाई रचनात्मक बनाउन नेपालमा विभिन्न कामहरू काउन्सिलले गरिरहेको छ ।’

‘सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ’, वर्ल्ड एशोसिएसन अफ प्रेस काउन्सिल (डब्लुएपीसी)को बुधबार शुरु भएको बैठकमा अध्यक्ष बस्नेतको प्रस्ताव थियो ।

उनले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राखेका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रयोगकर्तालाई काउन्सिलको समन्वयमा विभिन्न कारवाही समेत हुँदै गरेको जानकारी गराउँदै अध्यक्ष बस्नेतले अन्य देशको अनुभवबारे समेत मञ्चमा व्यापक छलफल हुनुपर्ने उल्लेख गरेका छन् ।

आचारसंहिताभित्र पत्रकारितालाई नराख्ने हो भने यो क्षेत्रप्रतिको विश्वास टुट्दै जाने र यसले सिंगो प्रेसजगत धरमराउने अवस्थामा लैजाने अध्यक्ष बस्नेतले बताएका छन् ।

केन्याका सूचना तथा सञ्चारमन्त्री जो मुचेरोले काउन्सिलका विश्वभरका प्रतिनिधिहरूलाई स्वागत गर्दै यस्ता मञ्चबाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौति सम्बोधन गर्नुपर्ने बताएका छन् ।

राजनीतिक, समाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिले छाड्न नहुनेतर्फ उनको भनाइ थियो ।

बैठकका सहभागीले अनलाईन र युट्युव व्यवस्थित गर्न नेपालमा भइरहेका प्रयास अनुकरणीय रहेको बताएका थिए ।

विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा.डा सुले अकरले सबै देशबाट आएका सुझावमा छलफल गरेर केन्या घोषणापत्र जारी गर्ने जानकारी दिएका छन् ।

Published : Wednesday, 2022 May 4, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया